भदौ १० गतेको बाढीपछि म साथीहरूलाई लिएर त्रिशूलीको किनारमा रहेको त्रिशूली बजार पुगेको थिएँ। त्यहाँ पुगेपछि देखिएको अवस्था निकै भयावह थियो। त्यत्रो ठूलो बाढी आएको भन्ने जानकारी हुँदाहुँदै पनि त्रिशूली बजारमा भएको क्षति आफ्नै आँखाले देख्दा एउटा प्रश्न मनमा आयो– यसभन्दा माथि रसुवा जिल्लाको नेपाल–चीन सीमा केरुङ नाकादेखि तलको अवस्था कस्तो होला ? त्यहाँ कति ठूलो क्षति भयो होला ?
त्यसपछि हामी रसुवाका एकजना साथीसँग समन्वय गरेर वैकल्पिक मार्गबाट जसरी हुन्छ त्यहाँ पुगौं भन्ने सोचले भोलिपल्ट काठमाडौंबाट निस्कियौं। तर, बाटोमै हामीसँगै जानुभएको साथीको भेना बाढीमा पर्नुभएको र उहाँलाई उद्धार गरेर हेलिकप्टरबाट ल्याइएको खबर सुनेपछि हामी फेरि फर्किनुपर्यो।
त्यसपछि हामीले निरन्तर सूचना संकलन गरिरहेका थियौं। सूचना लिँदै जाँदा उत्तरगयातर्फ कोही पनि नपुगेको, भित्रसम्म ठूलो क्षति भएको र धेरै प्रभावित मानिसहरू एक ठाउँमा संकलित भएर बसेको खबर आयो। हामीले तत्काल समन्वय गर्यौं। त्यहाँ अत्यावश्यक लत्ताकपडा र खानेकुराको आवश्यकता रहेछ। रञ्जना व्यापार संघले हामीलाई पीडितहरूका लागि आवश्यक लत्ताकपडा उपलब्ध गराउनुभयो। त्यसपछि हामी भोलिपल्ट बिहानै काठमाडौंबाट सिधै उत्तरगयातर्फ लाग्यौं। त्यो यात्रा हाम्रो लागि निकै दुःखद् र भावुक फिल्ड अनुभव थियो। त्यहाँ पुगेपछि धेरै पीडितहरूलाई भेट्यौं। लगभग हरेक घरमा शोक थियो।
कतिपय ठाउँमा त मानवबस्ती नै सखाप भएको अवस्था थियो। त्यहाँ अर्को ठूलो समस्या पनि थियो–फोन र इन्टरनेटको कनेक्सन पूर्णरूपमा अवरुद्ध थियो। मानिसहरू एकातिर आफन्त र परिवार गुमाएको पीडामा थिए भने अर्कोतिर आफ्नो अवस्था बाहिरी संसारसम्म पुर्याउन नसकेको पीडामा थिए। उनीहरूको एउटै चाहना थियो– राज्यले आफूहरूलाई देखोस्, आफ्नो अवस्था सुनोस् र आफ्नो आवाज मिडियामार्फत बाहिर ल्याउन पाइयोस्।
त्यसैले मैले त्यही बेलुका एउटा सार्वजनिक अपिल गरेँ– देशका सम्पादक, पत्रकार तथा मिडियाकर्मीहरू कृपया प्रभावित क्षेत्रमा आइदिनुहोस् भनेर। भाग्यवश, त्यो पोस्ट गरेको केही समयपछि बाटोमा हिँड्दै गर्दा एउटा ठाउँमा नेटवर्क चल्यो र त्यो सन्देश बाहिर पुग्यो। त्यो केवल एउटा सामाजिक सञ्जालको पोस्ट थिएन, त्यो त्यहाँका पीडितहरूको आवाज बाहिरी संसारसम्म पुर्याउने एउटा माध्यम बन्यो।
सुरुमा हामीले उत्तरगयामा आवश्यक राहत सामग्री उपलब्ध गरायौं। तर, त्यहाँ पुगेपछि अर्को गम्भीर आवश्यकता देखियो– बिजुली। ध्वंस भएको क्षेत्रमा विद्युत् आपूर्ति नहुँदा मोबाइल चार्ज गर्नदेखि सूचना आदानप्रदान र दैनिक जीवनका सामान्य कामसम्म कठिन भएको थियो।
त्यसपछि हामीले काठमाडौंबाट दुईवटा २२०० वाटका सोलार सेटअप मगायौं जसमा ११००÷११०० वाट यसमा डा. कालु सिंह खत्रीलगायत उहाँको टिम र सहयोगीहरूले हामीलाई महत्वपूर्ण सहयोग गर्नुभयो।
तीमध्ये एउटा सोलार प्लान्ट हामीले गोसाइँकुण्ड गाउँपालिकाको अस्थायी कार्यालयमा सेटअप गर्यौं। गाउँपालिकाको कार्यालय नै बाढीले बगाएको थियो। त्यसैले त्यो सोलार सेटअप गाउँपालिका कार्यालयका लागि मात्र नभई समुदायले समेत प्रयोग गर्न पाउने गरी स्थापना गर्यौं।
दोस्रो सोलार प्लान्ट उत्तरगयाको सेन्टर होल्डिङ सेन्टरका रूपमा रहेको नीलकण्ठमा माबिमा सेटअप गर्यौं। दुःखका साथ भन्नुपर्छ, करिब ५ सय विद्यार्थी भएको त्यो विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थीहरू बाढीमा बगेको अवस्था थियो। त्यस्तो पीडादायी ठाउँमा हामीले विद्युत्को आवश्यकता पूरा गर्न सोलार प्लान्ट स्थापना गर्यौं र त्यहाँ बिजुलीको व्यवस्थापनको काम पनि गर्यौं।
त्रिशूली नदी आसपासका महत्वपूर्ण तथा अत्यावश्यक ठाउँहरूमा राहत सामग्री पुर्याउने र आवश्यक समन्वय गर्ने काम हाम्रा स्वयंसेवक साथीहरूले निरन्तर रूपमा अगुवाइ गरिरहनुभएको छ। सहारा एउटा फिजिकल स्वयंसेवक समूह हो। हामी आफैं आर्थिक संकलन गर्दैनौं। सहयोग गर्न चाहने सहयोगीहरूले उपलब्ध गराउनुभएको सामग्रीलाई आवश्यक ठाउँ पहिचान गरेर प्रत्यक्ष रूपमा त्यहाँ पुर्याउने र त्यसका लागि समन्वय गर्ने काम गर्छौं।
बाढी आएको लगत्तै हामीले सूचना संकलनका लागि एउटा ग्रुपमा आह्वान गरेका थियौँ। डेढ घण्टाको अवधिमै १ हजार चौबीस जनाभन्दा बढी मानिस त्यसमा जोडिनुभयो। प्रभावित परिवारका सयौं मानिस पनि त्यसमा जोडिनुभयो र उहाँहरूबाट प्राप्त सूचनाहरू संकलन गरेर सही सूचना सम्बन्धित ठाउँसम्म पुर्याउने र संप्रेषण गर्ने काम हामीले गर्यौं।
हामीले देखेको कुरा के हो भने विपद्को समयमा राहत सामग्री जति आवश्यक हुन्छ, त्यति नै सही सूचना पनि आवश्यक हुन्छ। कसैको परिवार हराइरहेको छ भने उसको अवस्थाबारे सही सूचना चाहिन्छ। कतै औषधि चाहिएको छ भने त्यो सूचना तत्काल सम्बन्धित ठाउँमा पुग्नुपर्छ। कतै बिजुली चाहिएको छ भने त्यसको समाधान खोजिनुपर्छ।
अब हाम्रो ध्यान राहतबाट पुनर्निर्माणतर्फ पनि जानुपर्छ भन्ने लागेको छ। त्यसैले हामी पुनर्निर्माण र अस्थायी बासस्थान निर्माणका लागि पनि स्वयंसेवकहरूको तयारी गरिरहेका छौं। सरकार र स्थानीय तहसँग समन्वय गरेर जहाँ आवश्यक छ, त्यहाँ स्वयंसेवकको श्रम र सहयोग परिचालन गर्ने हाम्रो तयारी छ। यो विपद्ले हामी सबैलाई एउटा कुरा सिकाएको छ—विपद्को समयमा मानिसहरूलाई केवल राहतको प्याकेट होइन, आफूलाई कसैले देखिरहेको छ, सुनिरहेको छ र आफ्नो साथमा उभिएको छ भन्ने अनुभूति पनि चाहिन्छ।
(पौडेल बाढीपीडितको उद्धार र राहतमा क्रियाशील छन्।)
प्रतिक्रिया दिनुहोस !