सुरुङभित्रको उद्धार कार्य बाहिर सोचेजस्तो सरल हुँदैन; यो अत्यन्त जटिल र जोखिमपूर्ण हुन्छ। भित्रको कठिन भूगोल र ढुंगा—माटोको अवस्था हेरेर मात्र काम अघि बढाउनुपर्ने भएकाले बाहिरजस्तै तीव्र गतिमा काम गर्न असम्भव प्रायः हुन्छ।
अहिले हामीले सुरुङको मुख पहिचान गरी निरन्तर ढुंगा, लेदो र भत्किएका संरचनाहरू हटाउने काम गरिरहेका छौं। त्रिशूली थ्री ‘ए’ को उद्धारका क्रममा घरभन्दा ठूला २४ वटा चट्टानहरू फुटाउनु परेको थियो, जहाँ भारी उपकरण, स्काभेटर तथा ड्रिलिङ प्रविधिको प्रयोग गरियो। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सबैभन्दा छोटो र प्राविधिक रूपमा उपयुक्त मार्गबाट करिब १ सय ६० मिटर सुरुङ खोल्यो। भित्रबाट आवाज सुनिएपछि उद्धारकर्ताले फसेका मानिसहरूसँग संवाद गर्न सफल भए। त्यसपछि कार्यलाई तीव्र पार्दा दुई जनालाई जीवितै र एक जनालाई मृत अवस्थामा बाहिर निकालियो। सुरुङको माथिल्लो भागमा रहनेहरूको जीवित रहने सम्भावना बढी हुन्छ, तर तल्लो भाग लेदोले भरिएकाले त्यहाँ खोजतलास गर्नु अझै चुनौतीपूर्ण छ। धेरैलाई लाग्न सक्छ— मेसिन छाडेर बेल्चाले किन खनियो ? वास्तविकता के हो भने, संसारको कुनै पनि ठूलो मेसिन यस्तो सुरुङभित्र छिर्नै सक्दैन।
मेसिनले ५० देखि ६० मिटर बाहिर ल्याएर फाल्दा काम झन् ढिलो हुन्छ। बेल्चाको प्रयोगले नै काम छिटो हुने भएकाले हातैले काम गरिएको हो। यति छिटो सुरुङभित्र छिरेर काम गर्नु भनेको संसारलाई नै चकित पार्ने प्रविधि र हिम्मत हो। बाढी आउँदा त्रिशूली नदीको बाहिर आएर मानिसहरू भाग्दै गरेको भिडियो पनि हामीले देखेकै हौं। अहिलेको प्राकृतिक विपत्तिको अवस्था सोचेभन्दा भयानक छ। विश्वमै कहिल्यै नघटेको घटना यहाँ घटेको छ।
पानीका दुई रूप हुन्छन्— एउटा मानिसको जीवन सहज बनाउने नभई नहुने रूप र अर्को विनाशकारी रूप। त्यस दिन पानीले विनाशकारी रूप लियो र एक सय मिटरसम्म पानीको बहाव आयो। अबका दिनमा बस्ती बसाल्दा कम्तीमा पाँच सय मिटर माथि र जलविद्युत् आयोजनाहरू पनि पूर्ण सुरक्षित ठाउँमा बनाउनुपर्छ। भौगोलिक अवस्था र लोकेसनको गहिरो अध्ययन–अनुसन्धान गरेर मात्र अघि बढ्नुपर्छ। जहाँसम्म मेरो अनुभवको कुरा छ, मैले सन् २०१३ मा मेलम्चीको सुरुङ खन्ने कामबाट यस क्षेत्रमा यात्रा सुरु गरेको हुँ। नागढुंगा सुरुङमार्ग र त्रिशूलीमा १३ सय मिटरदेखि १५ किलोमिटरसम्मको आयोजना निर्देशकका रूपमा निर्माणसामग्री र जनशक्ति व्यवस्थापनको काम सम्हालिसकेको छु।
नेपालमा सुरुङ खन्ने पर्याप्त र सक्षम जनशक्ति छन्। अहिले नेपालभित्रै दैनिक रूपमा काम भइरहेको छ र सुरुङ खन्नकै लागि विदेशीमाथि निर्भर हुनुपर्ने अवस्था छैन। नेपाली व्यवस्थापन र जनशक्ति काम गर्न पूर्ण सक्षम छन्। विदेशीहरूलाई नै जिम्मा दिएर हेरौँ न, के उनीहरूले चार दिनमा यसरी रेस्क्यु गर्न सक्छन् ? ‘विदेशीलाई दिए भइहाल्छ’ भन्ने सोच सरासर गलत हो। हामीलाई चाहिने भनेको चुस्त–दुरुस्त व्यवस्थापन र चौबिसैघण्टा निरन्तर काम गर्ने तत्परता हो।
विदेशीहरूसँग अत्याधुनिक हाते औजार र टाढाबाटै जीवित मानिस पहिचान गर्ने प्रविधि हुन्छ। यस्ता प्रविधि र सहयोग लिनु स्वाभाविक हो, तर सम्पूर्ण उद्धार वा सुरुङ निर्माण नै विदेशीले गरिदिन्छन् भन्नु गलत हो। उनीहरूको भूगोलमा उनीहरूको विज्ञताले काम गर्छ, हाम्रो जटिल भूगोलमा हाम्रै अनुभव र विशेषज्ञता चाहिन्छ। आफ्नो देशको काम हामी आफैंले गर्ने हो !
सुरुङ विज्ञसमेत रहेका न्यौपाने प्रतिनिधिसभा सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस !