नदी हुँ
ओरालो बहनु मेरो धर्म हो
कर्म पनि निरन्तर बग्नु हो
अनि कहिले हुन्छ बेगवान।
मैले मान्छेको लोभको भारी बोक्नुपर्छ
आकासको आँसुको भार पनि थाम्नुपर्छ
मलाई जतिसुकै साँघुरो बनाए पनि
शान्तसित बगेकै हुँ
बग्ने ठाउँ नै नभएपछि
मभित्रको कर्तव्यले पनि
विद्रोह गर्छ
अनि बगाएर लानैपर्छ
मेरा बाटाका अवरोधहरू।
मान्छेहरू दोषारोपण गर्दै कराउँछन्,
‘बाढीले मेरो घरखेत लग्यो
बस्तुभाउ निल्यो
मेरो सत्यानास गर्यो।’
कहालीलाग्दो अवस्थाको भारी
अर्काको थाप्लोमा राख्न
मान्छेले मात्र जानेको छ
अहँ, यो सर्वनासको
जिम्मेवार म हुँदै होइन
सिसुपाललेजस्तै
गल्तीमाथि गल्ती गर्न म सक्दिनँ
कृष्णले जस्तै एक सय एकसम्म
माफी दिने सामथ्र्य पनि त
छैन नि मसँग
म जल हुँ
प्राणीहरूकै प्राणमा समर्पित रहँदै
सिञ्चन गर्नु मेरो कर्म हो
प्यास मेट्नु मेरो धर्म हो
अनि, बहनु पनि मेरो धर्म हो
म कसैलाई बगाउँदिन, केवल बहन्छु
म मेरो धर्म कसरी छोड्न सक्छु ?
प्रतिक्रिया दिनुहोस !