मेरी आमाको गर्भबाट ओर्लिएको
म एक कण हुँ ब्रह्माण्डको
अनन्त यात्रामा बगिरहेको
निलिऊन् मेरा अहंकार सबै
एकै सूर्यका रापले
शान्त बनोस् प्रिय हिमाल
र, तिनकै धमनी भएर बग्ने
रौद्र भोटेकोशी अनि यार्लुङ श्याङ्पो
प्रिय पृथ्वी !
हामी तिम्रै आँचलमा
टिमटिमाइरहेका जूनकीरी हौं
हामी निभेको दिन
तिम्रो उज्यालो पनि सकिनेछ
प्रिय धरा !
तिम्रो अनन्त आयातनमा
हामी छिचिमिराजस्ता मानिस
बासको वरिपरि रमाइरहेका थियौं
कि थियौं अलिक स्वार्थले उचालिरहेका !
हामी पुतलीजस्ता मानिस
सपनाको फूलबारी बनाएर
घाम उदाएसँगै अस्ताउने भूगोलसम्म
कि थियौं अतिव : भोकले अल्तलिरहेका !
जे थियौं, तिम्रै काखमा
गुन्गुनाइरहेका जीवन गीत हौ
जे थियौं, तिम्रै सौन्दर्यमा
लेखिरहेका सृष्टिको कविता हौं
तिमी छौ र हामी छौं
हामी भएर तिम्रो पनि
खास अर्थ लेखिएको हुनुपर्छ ब्रह्माण्डमा।
अब बग्न दिएर तिमीसँगै मेरा अहम्हरू
फिर्ता लिन्छु समयको अविछिन्न यात्रा बिर्सेर
समयलाई दास बनाउन तम्सिएका दम्भहरू
ढोगेर तिमीलाई क्षमा याचित छु म
माफ गरिदेऊ– बस्ती उठेको उराठ बगरतिर
हेरेर रोइरहेकी विरही आमालाई !
माफ गरिदेऊ– पहिरोको डिलमा उभिएर
बुबा पर्खिबसेको दूधे बालखालाई !
प्रिय प्रकृति !
आउने करोडौं वर्ष
माहुरीले झंै तिमीलाई
प्रेम गर्न मञ्जुर छ मानिस !
प्रतिक्रिया दिनुहोस !