नीलो यो पोसाक मेरो,
गौरव अनि शान हो।
स्वाभिमान, अभिमान हो,
चाड हो यो पोसाक मेरो,
हावाहुरीलाई रोक्ने शस्त्र हो।
तपस्या हो, सम्पत्ति हो,
राष्ट्र जोगाउने हतियार हो।।
धैर्य हो, अडिग रहने
साहस र पौरख हो।
हरपल शक्ति दिने
पौष्टिक आहार हो।।
वैभव अनि अमिट पुँजी हो,
गर्व हो, संयम हो।
नीलो यो पोसाक मेरो,
जीवनको सुन्दर धर्म हो।।
निष्ठाको बाटो हो,
निर्भीकताको पहिचान हो।।।
अठोट हो, धैर्य हो,
कर्तव्यको भारी बोक्ने शक्ति हो।
निद्राको बलिदान हो,
त्याग अनि समर्पण हो।।
कुण्ठा नभएको रत्तिभर,
ऊर्जाको स्रोत हो।
कर्तव्यको बाटोमा कहिल्यै
नथाक्ने प्रण हो।।
पहरा दिने गाउँबेंसीमा,
विपद्मा अघि सर्ने पाइला हो ।।।
नीलो यो पोसाक मेरो,
गौरव अनि शान हो।
साथी हो यो जनताको,
खोज्दा हरपलको साथ हो।।
सेवा यसको लक्ष्य हो,
विश्वासको आधार हो।
सेवा, समर्पणको नारा हो,
अडिग अनि साहसी हो।।
न्यायको मार्ग प्रशस्त हो,
अन्याय माथि प्रहार हो।
जनताको भरोसा हो,
देशको पहरेदार हो।।
जस अपजस अँगालेर
अघि बढ्ने रक्षक हो।
जय देश जय जनता
जय प्रहरी संगठन हो।।
नीलो यो पोसाक मेरो
जीवनभरको गर्व हो।।।
- दीपा भट्ट
प्रतिक्रिया दिनुहोस !