सानो हात, विशाल मन: नेपालका बाढीपीडितका लागि ६ वर्षे बालकले फुटाए खुत्रुके
काठमाडौं : सीमा, भूगोल र राजनीतिक रेखाले मानिसहरूलाई छुट्याए पनि पीडा र मानवताको भाषा सधैँ एकै हुन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेका छन्— भारत, उत्तर प्रदेशका ६ वर्षीय बालक अल्फाज शेख।
भोटेकोशी र त्रिशूलीको बाढीले पुर्याएको अभूतपूर्व क्षति र राष्ट्रिय शोकका बिच उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित बेटिया ग्राम पञ्चायतका यी बालकले हालै देखाएको बालसुलभ आत्मीयता र भावुक कदमले धेरैको मन छोएको छ।
कक्षा ३ मा अध्ययनरत बालक अल्फाजले युट्युब र टेलिभिजनमा नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिको दृश्य देखेका थिए। बाढीपीडितहरूको दुःखी अवस्था र बिचल्ली देखेर भावुक बनेका उनले उनीहरूलाई सहयोग गर्ने अठोट गरे। घरपरिवारले खाजा र चकलेट खान दिएको पैसा बचाएर उनले १ वर्षदेखि खुत्रुके (गुल्लक) मा जम्मा गर्दै आएका थिए। त्यही १ वर्षभरिको बचत रकम बाढीपीडितलाई सहयोग गर्नका लागि बालक आफ्ना अभिभावकका साथ कुशीनगरका जिल्ला अधिकारी (डिएम) कार्यालय पुगे। उनले आफ्नो खुत्रुके डिएम महेन्द्र सिंह तवरलाई हस्तान्तरण गरे। अल्फाजको यो सानो उमेरको ठूलो मानवीय कार्यको अहिले सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा भइरहेको छ भने उनीसँग सम्बन्धित समाचार र भिडियो व्यापक भाइरल बनिरहेका छन्।
गत भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको प्रलयकारी लेदोसहितको बाढी र पहिरोले नेपालको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण त्रिशूली तथा भोटेकोशी नदी तटीय क्षेत्रमा खर्बौं रुपैयाँका भौतिक संरचना, जलविद्युत् आयोजना, सडक र पुलहरूमा अपूरणीय क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको अद्यावधिक विवरणअनुसार यस विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ। भेटिएका शवमध्ये धेरैको पहिचान भइसकेको छ भने ५ सयभन्दा बढी शवको डीएनए परीक्षणमार्फत पहिचान गर्ने काम भइरहेको छ। अझै पनि नेपाली नागरिक र केही विदेशी पर्यटक गरी करिब ४ हजार ८९८ जना बेपत्ता छन्। विपद्मा घाइते भएका ५ हजार ६ सयभन्दा बढीको देशका विभिन्न अस्पताल तथा सुरक्षा शिविरहरूमा उपचार भइरहेको छ।
रसुवा र भोटेकोशीको बाढीले दिएको घाउ अत्यन्त गहिरो छ। तर, ६ वर्षे बालक अल्फाजको खुत्रुके सहयोगदेखि विश्वभरबाट उठेका यी साना-ठूला राहतका हातहरूले सीमा र भाषाभन्दा माथि मानवता नै सबैभन्दा ठूलो सत्य हो भन्ने प्रमाणित गर्दै नेपाली समाजलाई फेरि उभिने साहस र प्रेरणा दिएका छन्।
प्रतिक्रिया दिनुहोस !