मेसीको सम्मानमा एक मिनेट खेल रोकिने
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दा लगाएको १० नम्बरको जर्सीको सम्मान स्वरूप १०औं मिनेटको समय रोजिएको जनाइएको छ।
एजेन्सी /ब्युनस आयर्स : अर्जेन्टिनाका महान फुटबलर लियोनल मेसीको विशेष सम्मानमा अर्जेन्टिनाको फुटबल संघले विशेष कार्यक्रम घोषणा गरेको छ। संघका अनुसार अर्जेन्टिनामा हुने आगामी चरणका पुरुष तथा महिला फुटबल, फुटसल र बिच सकरका सबै खेल खेल सुरु भएको १०औं मिनेटमा एक मिनेटका लागि रोकिने भएको छ। त्यो एक मिनेटको समयमा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकले मेसीको योगदानको सम्मानमा सामूहिक रूपमा ताली बजाउने छन्।
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दा लगाएको १० नम्बरको जर्सीको सम्मान स्वरूप १०औं मिनेटको समय रोजिएको जनाइएको छ। स्टेडियममा ठूलो पर्दाको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि मेसीको सम्मानमा तयार पारिएको विशेष भिडियोसमेत प्रदर्शन गरिने संघले जनाएको छ।
संघको यो निर्णयले मेसीप्रति अर्जेन्टिनाको फुटबल जगत र समर्थकहरूको सम्मानलाई अझ स्पष्ट रूपमा देखाएको छ। अब अर्जेन्टिनाका विभिन्न मैदानमा खेल सुरु भएको १० औं मिनेटमा बज्ने ताली मेसीको १० नम्बर जर्सी र राष्ट्रिय टोलीका लागि उनले दिएको योगदानको सामूहिक सम्मानको प्रतीक बन्ने विश्वास गरिएको छ।
विश्व फुटबलका सर्वाधिक चर्चित र सफल खेलाडीमध्ये एक मेसीले गत अगष्ट ३१ मा अर्जेन्टिना राष्ट्रिय टोलीसँगको आफ्नो दुई दशक लामो यात्रा अन्त्य गरेको घोषणा गरेका थिए। ३९ वर्षको उमेरमा मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेसँगै अर्जेन्टिनाको जर्सीमा उनको अविस्मरणीय अध्याय औपचारिक रूपमा समाप्त भएको हो। उनको निर्णय २०२६ को विश्वकपपछि आएको हो। विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो। लगातार दोस्रो विश्वकप फाइनल खेल्दै उपाधि जित्ने अर्जेन्टिनाको सपना पूरा हुन नसके पनि मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई गौरवपूर्ण उपलब्धिसहित टुंग्याएका थिए।
सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीमा डेब्यु गरेका मेसीले राष्ट्रिय टोलीका लागि २०७ खेल खेलेर १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बनेर बिदा भएका छन्। मेसीको राष्ट्रिय टोलीसँगको यात्रा सधैं सफलताले भरिएको भने थिएन। सुरुवाती वर्षमा उनले क्लब फुटबलमा देखाएको जस्तो प्रभाव अर्जेन्टिनामा देखाउन नसकेको भन्दै आलोचना खेप्नुपरेको थियो। विशेषगरी सन् २०१४ को विश्वकप फाइनल तथा २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिनाको पराजयपछि उनीमाथि ठूलो दबाब परेको थियो। २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए। तर, त्यो निर्णय लामो समय टिक्न सकेन। उनी फेरि राष्ट्रिय टोलीमा फर्किए र त्यसपछि अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सफल पुस्ताको नेतृत्व गरेका थिए।
आलोचनाबाट विश्वविजेतासम्म
मेसीको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो मोड सन् २०२१ मा आयो। अर्जेन्टिनाले ब्राजिललाई हराउँदै कोपा अमेरिका जित्दा मेसीले पहिलोपटक सिनियर राष्ट्रिय टोलीसँग ठूलो उपाधि जितेका थिए। त्यसपछि २०२२ को कतार विश्वकपमा उनले आफ्नो करियरकै सबैभन्दा ठूलो सपना पूरा गरे। अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकप जित्यो र मेसी विश्व च्याम्पियन बन्न सफल भए।
त्यसपछि २०२४ मा अर्जेन्टिनाले फेरि कोपा अमेरिका जित्यो। यसरी मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा विश्वकप, दुई कोपा अमेरिका र अन्य महत्वपूर्ण उपाधि जोड्दै आफूलाई अर्जेन्टिनाका महान् खेलाडीको रूपमा स्थापित गरे।
प्रतिक्रिया दिनुहोस !