फर्किएर हेर्दा जेन–जी क्रान्ति

फर्किएर हेर्दा जेन–जी क्रान्ति
सुन्नुहोस्

जेन–जी क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अडकए कि जस्तो देखिँदैछ।

आज भदौ २३, नवयुवाको आह्वानमा सशक्त क्रान्ति सम्पन्न भएको एक वर्ष पूरा भएको छ। गत वर्ष जेन–जी क्रान्तिले देशको राजनीतिक पर्यावरणलाई एक असोचनीय नयाँ मोडमा डोहोर्‍याएपछि उठेका केही बहस÷प्रतिबहसहरू आजसम्म पनि समान रफ्तारमा छन्। अहिलेसम्म विश्वासिलो हिसाबले निरूपण नभएका दासढुंगा घटना, राजदरबार हत्याकाण्डजस्तै यो क्रान्तिका केही पक्षहरू पनि इतिहासमा सायद सदैव अनुत्तरित रहनेछन्।

उमेरसमूहको आधारमा जेन–जी सर्वाधिक ठूलो जनसांख्यिक साझेदारी हो। यसको लगभग २९ प्रतिशत हिस्सा छ। ठूलो संख्याले ठूलै आँट देखाउँदै ठूलै परिवर्तनको शंखघोष गरेको थियो। यत्तिको बहावी आन्दोलन तथा क्रान्ति सायदै विगतका कुनै अन्य पुस्ताले देखेका थिए, इतिहासमा पढेका समेत थिएनन् होला। नवयुवाहरूको आह्वानमा भएको त्यो अदम्य साहसको सबैले जयजयकार गरेकै थिए। धेरै सकारात्मक परिणाम आउने अपेक्षा तथा उत्साह पनि थियो र अझै बाँकी छ। परिवर्तनको माग जबर्जस्त उठ्ने र यसका बर्खिलापमा रहने व्यक्ति वा शक्ति आफैं विलय हुनुपर्ने बाध्यात्मक अवस्था जगजाहेर बन्यो।

लगत्तै अत्यन्त शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न भयो। आम नागरिकले विराट आशा तथा अपेक्षाका साथ नयाँ शक्तिलाई दुईतिहाइ बराबरको हैसियतमा सरकारको जिम्मेवारी दिए। राजनीतिमा समग्र परिवर्तन अवश्यम्भावी भएको विश्वास बढ्न थाल्यो। विश्व मानचित्रका विभिन्न घटना तथा परिघटनालाई अध्ययन गर्दा ऐतिहासिक र कालजयी क्रान्तिहरू अथवा अन्य महŒवपूर्ण घटनाक्रमको समयलाई अघिपछि भनेर विश्लेषण गर्ने चलन छ। जस्तैः विश्वयुद्ध अघिपछि, कोरोना अघिपछि, प्रजातन्त्र अघिपछि। अबको राजनीतिक पर्यावरणमा अध्ययन तथा विश्लेषणको मापन समय यो क्रान्ति पनि बन्नेछ। ‘जेन–जी क्रान्ति अघि र पछि’ भनेर विश्लेषणको बहाव लामो समय बगिरहनेछ। तर यस्तो प्रकारको क्रान्ति नेपालमा अचानक तथा अलौकिक रूपमा उदय भएको चाहिँ थिएन।

परिस्थितिको अभ्युदय : सरकारप्रतिको निराशा विश्वव्यापी रूपमा नै बढेको छ। आम नागरिक सन्तुष्ट भएको अवस्था कहीँ र कहिल्यै हुँदैन। आजको प्रजातान्त्रिक प्रक्रियाको प्रधान चुनौतीमध्ये सरकारमाथि नागरिक विश्वास कायम राख्नु अथवा बढोत्तरी गर्नु पनि हो। आर्थिक सहकार्य तथा विकास संगठनले हामीले विकसित सम्झिएका युरोपेली देशहरूमा गरेको पछिल्लो एउटा सर्वेक्षणमा झन्डै ५० प्रतिशत जनताले सरकारमाथि विश्वास गुमाएको, ४० प्रतिशतले थोरै विश्वास राखेको र १० प्रतिशतले मात्र पूर्ण विश्वास राखेको बताएका छन्। विख्यात लेखक जोसेफ स्टिग्लिट्जले आफ्नो पुस्तक ‘द ग्रेट डिभाइड’मा अहिलेको समयको प्रजातन्त्र भनेको केवल एक प्रतिशत मानिसका लागि मात्र काम गर्ने सरकार रहेको अवस्था हो भनेर व्यंग्य गर्छन्। आम नागरिकमा निराशा संसारभरि उच्च छ।

परिणामस्वरूप राजनीतिप्रतिको चासो र आकर्षण घटेको छ, सामाजिक ध्रुवीकरण तथा वितृष्णा बढेको छ। आन्दोलन र क्रान्तिमात्र नभएर हिंसात्मक द्वन्द्वसमेत भडकएका छन्। अनौपचारिक प्रणालीको अभ्यास तथा अन्तरदेशीय बसाइँसराइसमेत व्यापक छ। आम मानिस लोकप्रिय अथवा तानाशाह प्रकृतिको शासकको लागि लालायित बन्दैछन्। सरकारमाथि विश्वास गुमेपछि र देशप्रति आशा हराएपछि आम मानिसमा देखिने प्रमुख लक्षणहरू यस्तै हुन्छन्। यसै आधारमा तुफानी आन्दोलनहरूसमेत भएका छन्। नेपालमा मात्र यस्तो भएको होइन। फरिद जकारियाको पुस्तक ‘एज अफ रिभोलुसन्स’ले एक्काइसौं शताब्दी यस्ता आन्दोलनहरूको शताब्दी हुने कुरा पहिल्यै भनेको थियो। ती आन्दोलनहरू पनि सामाजिक सञ्जालबाट घोषणा हुने, असंगठित र स्वतःस्फूर्त रहने, प्रश्न उठाउन तथा शासक खेदाउन सक्ने तर समाधान दिन नसक्ने भनेर उनले यसका विशेषतासमेत केलाएका थिए।

जेन–जी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो, सम्झौता थिएन। हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो। तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधानसहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना बनेनन्। 

हाम्रो जेन–जी क्रान्ति लगभग यस्तै थियो। समान खालका प्रतिकारहरू केही पहिले मात्र श्रीलंका र बंगलादेशमा पनि भएका थिए। भारत, फ्रान्स, न्युजिल्यान्डमा पनि देखिँदैछन्, विस्फोट हुन्छन् वा हुँदैनन् भविष्यले देखाउँछ। दुईतिहाइको सरकार निर्माणका बाबजुद हामीमा नै पनि असन्तुष्टि र निराशा पूरै चिरिएको अवस्था छैन। केही क्षेत्रमा त अझै गहिरिएको पनि भनिन्छ। आर्थिक सूचक तथा लगानीकर्ताको आत्मविश्वास डगमगाएको समाचार सुनिन्छ। सर्वस्वीकार्य राजनीतिक परिपक्वताले अपेक्षित गति नलिएको गुञ्जायस पनि बढ्दैछ। फेरि अर्को क्रान्तिको आधार नबन्ला भन्ने निश्चिन्तता छैन। यद्यपि, गएको क्रान्तिका अनेकन सकारात्मक बहावहरू तथा सम्झनाहरू इतिहासमा सुनौला अक्षरले लेखिनेछन्।

सुनौला सम्झनाहरू : जेन–जी क्रान्तिको तागत र त्यसपछिको निर्वाचनले हरेक पार्टी तथा तिनका शक्तिमा उन्माद बोक्ने नेतालाई राम्रो सबक सिकाइसकेको छ। युवामा कति शक्ति र सामथ्र्य छ, सबैले देखिसकेका छन्। नागरिकको अपेक्षाअनुसार शासन गर्न र नागरिकलाई खुसी राख्न सकिएन भने बीभत्स अन्त्य हुनुपर्छ भन्ने बुझिसकेका छन्। युवाहरूको तागत प्रमाणित भइसकेको छ। यदाकदा, देश नियन्त्रणमा लिन दुई दिन नै काफी रहेछ त १०औं वर्ष लगाएर पार्टीहरूले के आन्दोलन गरे होलान् भन्ने व्यंग्यसमेत सुनिन्छ।

यदि अब पनि सरकारहरूले नागरिक अपेक्षित कार्यसम्पादन गर्न सकेनन् भने युवा सिर्जित तुफानले सहजै विस्थापन गर्न सक्छ भन्ने चेतना पलाएको छ। यो क्रान्तिभन्दा पहिले आजको युवा पुस्तालाई राजनीतिप्रति चासो नभएको, केवल यन्त्र वा उपकरणमा मात्र अल्झने भनेर कटाक्ष गर्ने गरिन्थ्यो। उक्त समूहले यो भ्रम चिर्दै रुममा मात्र बस्ने होइन, रोडमा पनि निस्कने तागत छ भन्ने प्रमाणित गर्‍यो। ‘पोस्टिङ’ मात्र होइन, ‘प्रोटेस्ट’ पनि गर्न सक्ने सामथ्र्य प्रमाणित गरिदिएको छ। अनेकन सकारात्मक सन्देशका बाबजुद प्रश्न सकिएका छैनन्, संशय पूरै मेटिएका होइनन्।

नमेटिएका संशयहरू : सबैभन्दा बेचैनी र बेखुसी तुल्याएको पक्ष यो हो कि अदम्य साहसको जेन–जी क्रान्ति आफैंचाहिँ असमञ्जस्यतामा त अड्किएन ? २००७, २०४६ अनि २०६२/६३, मधेस संघर्षलगायतका अन्य परिवर्तन केवल आन्दोलनका बलमा भएका थिए। आन्दोलनकारी र सत्तापक्षबीच वार्ता भएर सम्झौताको माध्यमबाट निकास निस्किएका थिए।

जेन–जी प्रतिकारमा क्रान्तिको पूर्ण स्वरूप विद्यमान थियो। यस प्रतिकारमा राज्यले आत्मसमर्पण गरेको मात्र होइन कि व्यापक नागरिक चाहना (पब्लिक विल) पनि प्रकट भएकाले आवश्यकताको सिद्धान्तअनुसार उच्च प्रगतिशील जस्तोसुकै निर्णय गर्न सकिन्थ्यो। संसद् पराजित भएको, नेता र सांसदहरू मैदान छाडेर भागेको, विद्यमान राज्यसत्ता निष्प्रभावी भएको र सरकार अपदस्थ भएको कारण आन्दोलनको हरेक एजेन्डालाई स्थापित गर्ने वैधानिक अधिकार क्रान्तिको नेतृत्वमा निहित थियो।

यद्यपि विगतका आन्दोलनबाट केही ठोस परिवर्तन अनि नयाँ राजनीतिक संरचनात्मक सुधार देखिएका थिए। जेन–जी क्रान्तिमा निकै ठूलो तरंग थियो, उस्तै तागत पनि। तत्कालीन दलहरूले गल्ती गरेकै हुन्, जनता चिडिएका नै हुन् भन्ने आत्मसात् थियो। हामी सुध्रिन तयार छौं भनेर आलाप–विलाप, रोदन र रुवावासी गरिरहेकै थिए। माहोल यस्तो थियो कि अधिकांशले राजनीतिमा फर्कने कहिल्यै कल्पना पनि नगर्ने गरी आत्मविश्वास गुमाएका थिए। सामान्य सुधारका अभ्यासदेखि संविधानका कुनै पनि विषयमा प्रस्ताव गरिने संशोधन र अन्य संरचनात्मक परिवर्तन सहजै स्वीकार्य बन्ने अनि अनुमोदन हुने अवस्था थियो। अफसोस ! परिणामचाहिँ केवल प्रतिनिधिसभाको निर्वाचन दुई वर्ष अघि सर्‍यो। नयाँ सरकार त बन्यो तर प्रणाली, संरचना तथा प्रक्रियामा खासै परिवर्तन गरिएन।

क्रान्ति गर्ने पक्षले आवश्यक परिवर्तनको खाका प्रस्तुत र संस्थागत गर्न नसक्दा पुरानै प्रणाली तथा नेताहरू अझै निर्णायक बन्न खोज्दैछन्, नसके पनि बाधकचाहिँ बनिरहेकै छन्। नयाँहरूले आवश्यक सहकार्य तथा क्षमता प्रस्तुत गर्न नसक्दा उनीहरू कमजोर हुने मात्रै होइन, पुरानैले फेरि राज्यसत्तामा हालीमुहाली गर्ने मौका पाउन सक्ने जोखिम देखिन्छ। देशले खोजेको र नागरिकले मागेको समाधान आउने सम्भावनामाथि चुनौती बढ्दैछ। चर्का भाषणबाजी र आत्मरतिले बनेका पानीफोकाहरूको दृश्यले नागरिकलाई सरकारको विरोधमा आकर्षित गर्न खोजिरहेका छन्। चोक र चौतारीमा गालीगलौजको भाषामात्र बोल्नेहरूले फिल्डमा नै खटिएर नागरिकका लागि काम गर्नेहरूमाथि स्टन्ट भन्ने भाष्य निर्माण गर्न जोडबल गर्दैछन्।

जेन–जी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो, सम्झौता थिएन। हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो। तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधानसहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना बनेनन्। एउटा सशक्त क्रान्ति विगतका आन्दोलनभन्दा कम उपलब्धि तथा शून्य शासकीय परिवर्तनमा खुम्चियो। केही उकुसमुकुस चाहिँ बाँकी होलान्। चुनावबाट नयाँ सरकार बन्यो, तर संरचना र प्रणाली उही रहँदा आत्मविश्वासको गतिभन्दा निराशाको बेग नै बलियो बन्दैछ। फेरि अर्को पनि आन्दोलन वा क्रान्तिको संशय हटेको छैन। क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किए कि जस्तो देखिँदैछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.