कृष्णभीरको पहिरो छिचोल्दै विद्यालय

कृष्णभीरको पहिरो छिचोल्दै विद्यालय
सुन्नुहोस्

धादिङ : बिहानको समय। हातमा किताब–कापी बोकेका विद्यार्थीको एउटा समूह कृष्णभीरतर्फ अघि बढ्छ। केही विद्यार्थीको काँधमा झोला छ, केहीको हातमा किताब। उनीहरू विद्यालय पुग्न हिँडेका हुन्। तर, यो उनीहरूको नियमित विद्यालय यात्रा भने होइन।

पृथ्वी राजमार्गको सडकमा बस चल्दैन। अगाडिको बाटो पहिरोले भासिएको छ। माथिबाट माटो र साना ढुंगा खस्ने जोखिम छ। त्यसैले विद्यार्थीहरू सवारीसाधन चढेर होइन, पहिरो छिचोल्दै पैदल विद्यालय पुगिरहेका छन्।

त्रिशूली नदीको बाढीले सडक कटान गरी भासिएपछि गत भदौ १४ गतेदेखि कृष्णभीरमा राजमार्ग अवरुद्ध छ। सडक अवरुद्ध हुँदा बेनीघाट रोराङ गाउँपालिकाका–८, ९ र १० का नागरिकको दैनिक जीवन प्रभावित भएको छ। त्यसको प्रत्यक्ष असर विद्यालय जाने बालबालिकामा परेको छ।

‘कृष्णभीर भासिएपछि हाम्रो भूगोल नै दुई भागमा बाँडिएको जस्तो भएको छ,’ बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी तथा शाखा अधिकृत परशुराम घिमिरे भन्छन्, ‘वडा नम्बर ८, ९ र १० का नागरिक तथा बालबालिकाको पठनपाठनमा ठूलो असर परेको छ।’

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक बाटो त छ, तर सहज छैन। दूरी लामो छ। त्यसैमाथि कृष्णभीरको माथिल्लो भागबाट माटोसँगै साना ढुंगा खस्ने क्रम रोकिएको छैन। यसअघि करिब ३० मिनेटमा पुगिने दूरी अहिले वैकल्पिक बाटो प्रयोग गर्दा निकै लामो हुने गरेको घिमिरे बताउँछन्। विद्यार्थीका लागि यो केवल यात्रा लामो हुनुको समस्या होइन, समयमै विद्यालय पुग्ने, नियमित कक्षा लिन पाउने र सुरक्षित रूपमा घर फर्किने विषय पनि हो।
सडक अवरुद्ध भएपछि गाउँको एउटा भूभागबाट अर्को भूभागमा हुने नियमित आवतजावत नै प्रभावित भएको छ। विद्यालय, क्याम्पस, बजार र दैनिक कामका लागि ओहोरदोहोर गर्ने नागरिकले वैकल्पिक बाटो रोज्नुपरेको छ।

विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयका लागि कृष्णभीरको अवरोध झन् ठूलो समस्या बनेको छ। विद्यालयका सहायक प्रधानाध्यापक केशवप्रसाद कडेलका अनुसार कृष्णभीर हुँदै दैनिक विद्यालय आउने करिब १ सय २७ विद्यार्थी छन्।

बाढी र पहिरोपछि करिब ६ दिनसम्म उनीहरूको पठनपाठन र विद्यालय आवतजावतमा प्रत्यक्ष असर परेको कडेल बताउँछन्। ‘कृष्णभीर हुँदै आउने विद्यार्थी करिब १२७ जना छन्। सडक अवरुद्ध भएपछि करिब ६ दिनसम्म पठनपाठनमा समेत असर पर्‍यो,’ कँडेलले भने, ‘अहिले विद्यालयले स्कर्टिङ गरेर विद्यार्थीलाई कृष्णभीर वारपार गराउने व्यवस्था गरेको छ।’

विद्यालयले विद्यार्थीको पढाइ रोकियोस् भन्ने चाहेको छैन। त्यसैले जोखिमका बीच पनि उनीहरूलाई सुरक्षित रूपमा वारपार गराउने प्रयास भइरहेको छ। तर, पहिरोको जोखिम पूर्णरूपमा हटेको छैन। चन्द्रोदय माध्यमिक विद्यालयमा धादिङका मात्र विद्यार्थी पढ्दैनन्। छिमेकी जिल्ला गोरखाको गण्डकी गाउँपालिकाबाट पनि विद्यार्थीहरू दैनिक विद्यालय आउँछन्। विद्यालयका अनुसार गोरखाबाट आउने करिब ५० विद्यार्थी पनि सडक अवरुद्ध भएपछि प्रभावित भएका छन्। राजमार्ग बन्द हुँदा उनीहरूको विद्यालय यात्रा झन् कठिन बनेको छ। नियमित बस सेवा प्रभावित भएपछि विद्यालय पुग्न वैकल्पिक बाटो र पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।

विद्यालय तहका विद्यार्थी मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत यसको मारमा छन्। बीबीएस र बीएड अध्ययन गर्न आउने करिब २५–२६ जना विद्यार्थी सडक अवरुद्ध भएपछि नियमित रूपमा क्याम्पस आउन नसकेको विद्यालयले जनाएको छ।

यसरी एउटा सडक भासिँदा विद्यालय तहदेखि उच्च शिक्षासम्मका विद्यार्थीको शैक्षिक गतिविधि प्रभावित भएको छ। विद्यार्थीका लागि विद्यालय पुग्नु दैनिक जीवनको सामान्य प्रक्रिया हो। तर, कृष्णभीरका विद्यार्थीका लागि अहिले विद्यालय पुग्नु नै चुनौती बनेको छ। किताब बोकेर हिँडिरहेका विद्यार्थीका अगाडि बाटो छ, तर सुरक्षित बाटो छैन। माथिबाट ढुंगा खस्ने जोखिम छ। तल भासिएको सडक छ। सवारीसाधनको सुविधा छैन। यस्तो अवस्थामा विद्यालय पुग्नु उनीहरूको बाध्यता बनेको छ।
अभिभावकका लागि पनि यो अवस्था सहज छैन। छोराछोरी विद्यालय गएको समयमा उनीहरू सुरक्षित फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ता थपिएको छ।

सडक अवरुद्ध हुँदा विद्यार्थीको पठनपाठनमा परेको असर तत्काल देखिने खालको छ। तर, लामो समयसम्म सडक सञ्चालनमा आउन नसके यसको प्रभाव अझ गहिरो हुन सक्ने स्थानीयको चिन्ता छ। विद्यार्थीहरू पहिरो छिचोल्दै विद्यालय पुगिरहेका बेला सडक खुलाउन भने कृष्णभीरमा ठूलो प्रयास भइरहेको छ।

भासिएको सडकको भागभन्दा कुनापट्टिबाट भित्ता काटेर नयाँ ट्र्याक निर्माण तथा चौडा गर्ने काम भइरहेको छ। सडक खुलाउन दैनिक ९ देखि ११ वटा सानाठूला डोजर प्रयोग भइरहेका छन्।

तर काम सहज छैन। करिब ३०० मिटर लामो नयाँ ट्र्याक निर्माण गर्नुपर्नेछ। त्यसका लागि करिब ४० मिटर उचाइको पहाड काटेर सडकको सतह तल झार्नुपर्ने अवस्था छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाका अनुसार अहिलेको गतिमा निरन्तर काम गर्न सकिए करिब नौ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने अनुमान छ।

तर सडक खोल्नु मात्र पर्याप्त छैन। पहिरोको जोखिमका बीच सवारीसाधन सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने अर्को प्रश्न छ। जटिल भूगोल र माथिबाट माटो तथा ढुंगा खस्ने जोखिमका कारण तत्काल पूर्णरूपमा सुरक्षित यातायात सञ्चालन गराउनु चुनौतीपूर्ण रहेको देवकोटा बताउँछन्।
कृष्णभीरको पहिरोले एउटा सडक मात्र रोकेको छैन। यसले गाउँको आवतजावत, विद्यार्थीको पढाइ, व्यवसायीको व्यापार र सर्वसाधारणको दैनिकीलाई समेत प्रभावित बनाएको छ।

काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित छन्। दैनिक उपभोग्य वस्तुको आपूर्तिमा असर परेको छ। विद्यालय तथा क्याम्पस जाने विद्यार्थी वैकल्पिक बाटो र पैदल यात्रामा निर्भर भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङको शीतलबजार तथा गजुरी गाउँपालिकाका छहरा, बिहानी पम्प र बांगे क्षेत्रमा समेत सडक भासिने तथा पहिरो जाने जोखिम कायमै छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.