बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत
काठमाडौं : विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच) फाउन्डेसन, बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन्।
बाढीबाट सयौँ परिवार प्रभावित भई घर, खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्रीमा क्षति पुगेपछि राहतको आवश्यकता बढिरहेका बेला संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन्।
राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो।
यस अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो।
राहत अभियानबारे प्रतिक्रिया दिँदै डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन ए.के.एम. गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए।
उनले भने “मानवताको कुनै सीमा हुँदैन। जब मानिसहरू कठिनाइ र क्षतिको सामना गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कहाँबाट आएका हुन् भन्नेभन्दा पनि उनीहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ। नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा हामी गौरवान्वित छौँ।”
फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम तथा गोलाम मुर्तुजा लगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !