किन भयो एयरपोर्ट वरपर धेरै वर्षा ?
काठमाडौं : यस वर्षको मनसुनमा काठमाडौंको विमानस्थल क्षेत्र वरपर सबैभन्दा धेरै वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार २० वटा मौसम स्टेसनहरूमध्ये विमानस्थल क्षेत्रमा सबैभन्दा धेरै वर्षा मापन भएको हो।
यस वर्ष विभागले नेपालमा सरदरभन्दा कम वर्षा हुने बताएको थियो। कुनै–कुनै क्षेत्रमा सरदर वर्षा भए पनि धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा भएको विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जोमसोम, दाङ, जुम्ला, ताप्लेजुङ र डडेल्धुरामा सरदर वर्षा भएको छ। तर, अन्य ठाउँमा सरदरभन्दा कम वर्षा मापन गरिएको छ।
विभागका अनुसार बिहीबारसम्म यो मनसुनमा १०७४.५० मिलिमिटर वर्षा भएको छ। उक्त परिमाण समग्रमा हेर्दा ७२.६ प्रतिशत हुन आउँछ। हालसम्म भएको वर्षालाई सरदरभन्दा कम नै मानिएको मौसमविद् डेभिड ढकालले बताए। ‘अहिलेसम्म कम्तीमा १२ सय मिमिभन्दा बढी वर्षा हुनुपथ्र्यो। १०० प्रतिशतभन्दा धेरै पानी परेमा मात्रै सरदरभन्दा बढी भनिन्छ। ९० देखि १०० प्रतिशतलाई सामान्य नै मानिन्छ,’ ढकालले भने, ‘तर, हालसम्म ७२.६ प्रतिशत मात्रै परेको छ। यद्यपि एयरपोर्टको मापन सरदरभन्दा अलि बढी छ।’
ढकालका अनुसार यतिबेला विभिन्न स्थानमा खण्डित वर्षा भइरहेको छ। काठमाडौंमा कतै भारीदेखि अति भारी वर्षा हुँदा कतै भने छिटफुट वर्षा मात्रै भएको छ। अन्य ठाउँमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको उनले जनाए।
‘बादलको विकास राम्ररी नहुँदा कतै धेरै कतै थोरै वर्षा हुन्छ। सामान्यतया मनसुनमा एकनासे वर्षा लामो समयसम्म हुनुपर्ने हो। अहिलेको वर्षाको स्वभाव फरक देखिएको छ,’ ढकालले भने। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले अहिलेको वर्षा प्रि–मनसुनको जस्तो भएको बताए। पौडेलले भने, ‘मनसुनमा समान रूपमा लगातार दुई–तीन दिन झरी लाग्ने हुन्थ्यो। तर, अहिलेको वर्षा खण्डित छ। कतै सामान्य त कतै भारी वर्षा भइरहेको छ। वर्षाको चरित्र फेरिएको छ।’
यस वर्ष एल निनोका कारण सरदरभन्दा थोरै वर्षा हुने भनिएको थियो। एल निनोले पनि खण्डित वर्षा गराउन भूमिका खेल्ने सम्भावना रहेको पौडेलले बताए। त्यसैगरी बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणाली केही समय तराईको नजिक आए पनि धेरै समय त्यहाँ बसेन। भारततिर धेरैनजिक गएका कारण पनि नेपालमा खण्डित वर्षा भएको हुन सक्ने उनले बताए। पुनः उनले थपे, ‘न्यूनचापीय रेखा एक–दुई दिन नेपालको नजिक आउनेबित्तिकै झरी परिहाल्छ। तर, यस वर्ष नजिकै आएन।’यसलाई मौसममा आएको विश्वव्यापी परिवर्तन र ग्लोबल वार्मिङका कारण मान्न सकिने उनले बताए। तर, यस विषयमा अध्ययनको आवश्यकता रहेको पौडेलको भनाइ छ।
एल निनोको प्रभाव रहेको समयमा नेपालमा कम वर्षा हुने गर्छ। विभागको तथ्यांकअनुसार विगत ४५ वर्षको अवधिमा नेपालमा ९ पटक एल निनोको प्रभाव परिसकेको छ। तीमध्ये ८ वर्ष नेपालमा औसतभन्दा कम वर्षा भएको थियो। तर, सन् १९८७ मा एल निनो रहे पनि औसतभन्दा केही बढी वर्षा भएको विभागले जनाएको छ। सामान्यतया मनसुन बहिर्गमनको सरदर मिति अक्टोबर २ हो। त्यसैले करिब २०–२२ दिनपछि मनसुन बहिर्गमन हुन्छ। यस अवधिमा कति वर्षा हुन्छ, त्यसले मनसुनको वर्षाको निर्धारण गर्ने मौसमविद्हरूको भनाइ छ।
‘अगस्ट इतिहासकै सबैभन्दा तातो महिना’
ब्रसेल्स (एजेन्सी) : युरोपियन युनियनको कोपर्निकस जलवायु परिवर्तन सेवाले गत अगस्ट महिनालाई अहिलेसम्मकै सबैभन्दा तातो महिनाका रूपमा मापन गरेको छ। बिहीबार सार्वजनिक तथ्यांकअनुसार गत अगस्टको औसत विश्वव्यापी हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस (६२.५३ डिग्री फरेनहाइट) पुगेको छ, जसले सन् २०२३ मा बनेको अघिल्लो रेकर्डलाई तोड्दै नयाँ सर्वकालीन उच्च रेकर्ड कायम गरेको छ।
सन् १९४० देखिको तथ्यांक राख्दै आएको कोपर्निकसले यसअघिको सर्वकालीन मासिक उच्च तापक्रम जुलाई २०२३ मा रेकर्ड गरेको थियो। कोपर्निकसको सुपरिवेक्षण गर्ने युरोपेली मध्यमकालीन मौसम पूर्वानुमान केन्द्रकी सामान्था बर्जेसले भनिन्, ‘मानिसहरूले कम्तीमा पनि विगत एक लाख वर्षमा आज जत्तिको तातो तापक्रम कहिल्यै देखेका थिएनन्।’
पश्चिम युरोपमा भीषण असर
लगातारको लू, खडेरी र डढेलोपछि पश्चिम युरोपले यस वर्ष आफ्नो इतिहासकै सबैभन्दा तातो तापक्रम भोगेको छ। युरोमोमो अनुगमन प्लेटफर्मको अनुमानअनुसार जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म युरोपमा लूका कारण ३२ हजारभन्दा बढीको मृत्यु भएको छ। यसका अतिरिक्त समुद्री तापक्रमले पनि सर्वकालीन उच्च रेकर्डसँग बराबरी गर्दै महासागरहरूमा रेकर्डतोड न्यानोपनको तीन महिना लामो सिलसिलालाई थप लम्ब्याएको छ।
यी समुद्री तापक्रमले समुद्री जीवजन्तु, प्रवाल चट्टान (कोरल रिफ) र तटीय समुदायहरूलाई ठूलो क्षति पु¥याएका छन्। आधुनिक युगकै सबैभन्दा शक्तिशाली अनुमान गरिएको ‘एल नीनो’ले प्रशान्त महासागरमा असामान्य रूपमा तातो पानी ल्याउनेछ, जसले विश्वभर बाढी, खडेरी र डढेलोजस्ता चरम मौसमी घटनाको जोखिम बढाउनेछ।
जलवायु परिवर्तनलाई मुख्य कारण मान्दै वैज्ञानिकहरू
वैज्ञानिकहरूले यो चरम गर्मीलाई मुख्यतः मानवजन्य जलवायु परिवर्तनसँग जोडेका छन्। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले कोपर्निकसको प्रतिवेदनप्रति प्रतिक्रिया दिँदै भने, ‘प्रमाण निर्विवाद छ—यो मानवताको इन्धनप्रतिको लतको बढ्दो मूल्य हो, जसले विश्वव्यापी जलवायु संकटलाई थप बढाइरहेको छ। जबसम्म मानवताले कोइला, तेल र ग्यास बाल्न बन्द गर्दैन, तबसम्म चरम गर्मीले रेकर्ड तोड्ने क्रम जारी रहनेछ।‘
दीर्घकालीन तापवृद्धि हाल पूर्व–औद्योगिक स्तरभन्दा लगभग १.४ डिग्री सेल्सियस बढी रहेको छ, जुन पेरिस सम्झौताअन्तर्गत परिकल्पना गरिएको १.५ डिग्री सेल्सियसको सीमाभन्दा अलिकति मात्र कम हो। गत हप्ता संयुक्त राष्ट्रसंघले १.५ डिग्री सेल्सियसको लक्ष्य अब हासिल गर्न नसकिने चेतावनी दिँदै हरितगृह ग्यास उत्सर्जनमा द्रुत कटौती गर्न आग्रह गरेको थियो। टेक्सास ए एन्ड एम विश्वविद्यालयका जलवायु वैज्ञानिक एन्ड्रयू डेस्लरले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने, ‘तातो हुँदै गइरहेको पृथ्वीप्रति छक्क परेको नाटक गर्न बन्द गर्ने बेला भएको छ। यो ठ्याक्कै त्यसरी नै भइरहेको छ, जसरी वैज्ञानिकहरूले दशकौं अघि नै पूर्वानुमान गरेका थिए।’
प्रतिक्रिया दिनुहोस !