नलेज इकोनोमी : नेपालको सय अर्ब डलरको बाटो
संसार यति तीव्र गतिमा नलेज–बेस्ड इकोनोमीमा अगाडि बढिसक्दा पनि नेपालको विकास बहस भने अझै पनि परम्परागत विषयमै अल्झिएको छ। हामी अझै पनि सडक, पुल, रेमिट्यान्स र परम्परागत कृषिको कुरा गरेर २१ औं शताब्दीको डिजिटल दौड जित्ने सपना देखिरहेका छौं।
२०२६ को फच्र्युन ग्लोबल ५०० को सूचीको केस स्टडीबाट यो लेखमा प्रवेश गरौं। यही वर्षको जुन महिनामा प्रकाशित यो सूचीको शीर्ष स्थानमा अमेजन छ भने १२ वर्षसम्म राज गरेको वालमार्ट अब दोस्रोमा झरेको छ। अमेजनको २०२५ को आम्दानीमात्रै ७०० अर्ब डलर पुगेको छ। यो विश्व अर्थतन्त्रको चरित्र नै बदलिएको प्रमाण हो। वालमार्टले भौतिक ‘सामान’ बेच्छ, तर अमेजनले ‘ज्ञान, डाटा, क्लाउड र एआई’ बेच्छ।
फोब्र्सको २०२६ को विश्व अर्बपति सूचीले यसलाई अझ प्रस्ट पार्छ। हाल संसारभर ३ हजार ४ सय २८ अर्बपति छन्, जसको कुल सम्पत्ति २०.१ ट्रिलियन डलर छ। यीमध्ये कम्तीमा ८६ जनाको सम्पत्ति पछाडि कृत्रिम बुद्धिमत्ता (एआई) को सीधा हात छ। अझ अचम्मको कुरा, पछिल्लो एक वर्षमा मात्रै ४५ जना नयाँ व्यक्तिहरूएआई–संबद्ध व्यवसायकै कारण अर्बपति बनेका छन्।अब नेपालको प्रश्न यही हो— यो परिवर्तनमा हामी कहाँ छौं ?
संसार यति तीव्र गतिमा नलेज–बेस्ड इकोनोमीमा अगाडि बढिसक्दा पनि नेपालको विकास बहस भने अझै पनि परम्परागत विषयमै अल्झिएको छ। हामी अझै पनि सडक, पुल, रेमिट्यान्स र परम्परागत कृषिको कुरा गरेर २१ औं शताब्दीको डिजिटल दौड जित्ने सपना देखिरहेका छौं।
हाम्रा विश्वविद्यालयले अब डिग्री दिने हो कि नयाँ ज्ञान, पेटेन्ट र कम्पनी बनाउने हो ? विदेशमा रहेका नेपालीलाई पैसा पठाउने औजारका रूपमा मात्र हेर्ने हो कि विश्वव्यापी ज्ञान, पुँजी, प्रविधि र बजारसँग जोडिएको आर्थिक सम्पत्तिका रूपमा ? यहीँबाट नेपालको नलेज इकोनोमीको बहस सुरु हुन्छ
नलेज इकोनोमी भनेको कम्प्युटर, इन्टरनेट वा एआई प्रयोग गर्ने कुरा मात्र होइन। यो अर्थतन्त्रमा ज्ञानको भूमिका बदल्ने कुरा हो।
अनुसन्धानबाट नयाँ प्रविधि निकाल्ने, प्रविधिबाट नयाँ उत्पादन बनाउने, तथ्यांकबाट निर्णय सुधार्ने, सीपबाट उत्पादकत्व बढाउने र बौद्धिक सम्पत्तिबाट विश्व बजारमा मूल्य सिर्जना गर्ने क्षमता नै नलेज इकोनोमी हो। क्लाउस स्वाबले द फोर्थ इन्डस्ट्रियल रिभोल्युसनमा अहिलेको परिवर्तनलाई प्रविधिहरूबीचको तीव्र संयोजनका रूपमा व्याख्या गरेका छन्। एआई, रोबोटिक्स, बायो टेक्नोलोजी, इन्टरनेट अफ थिङ्स, क्लाउड र बिग डेटा अब अलग–अलग क्षेत्र रहेनन्। यी एकअर्कासँग जोडिएर उत्पादन, रोजगारी, व्यवसाय र राज्य सञ्चालनको तरिका बदलिरहेका छन्।
हामीले पहिलो औद्योगिक क्रान्तिको समयमा आधुनिक औद्योगिक उत्पादनको मूल प्रवाह समात्न सकेनौं, किनकि त्यो कालखण्ड पृथ्वीनारायण शाहद्वारा देशको एकीकरणको व्यस्त बेला थियो। दोस्रो औद्योगिक क्रान्तिले पनि नेपालमा बलियो औद्योगिक आधार तयार गर्न सकेन—राणा शासनको अवधिमा त विकासका बहसहरू नै हाम्रो संवेदनाभन्दा बाहिर रहे। तेस्रो औद्योगिक क्रान्तिमा कम्प्युटर, मोबाइल र इन्टरनेट तीव्र रूपमा फैलिए पनि प्रविधि प्रयोग गर्ने र प्रविधि उत्पादन गर्नेबीचको खाडल निकै ठूलो रह्यो।अब चौथो औद्योगिक क्रान्तिमा पनि ढिलो गर्ने हो भने हामीले फेरि त्यही गल्ती दोहोर्याउनेछौं।
यसपटक अवसर फरक छ। डिजिटल अर्थतन्त्रमा प्रवेश गर्न पुरानो शैलीको विशाल कारखाना, ठूलो भूगोल वा दशकौं लामो औद्योगिक इतिहास आवश्यक पर्दैन। सफ्टवेयर, डिजिटल सेवा, साइबर सुरक्षा, एआई, वित्तीय प्रविधि, शिक्षा प्रविधि, डिजाइन र अन्य ज्ञानमा आधारित सेवाबाट सानो देशले पनि विश्व बजारमा प्रवेश गर्न सक्छ।
नेपालजस्तो सानो र भू–परिवेष्ठित देशका लागि डिजिटल अर्थतन्त्र ठूलो वरदान हो। किनभने यहाँ प्रवेश गर्न पुरानो शैलीको विशाल कारखाना, ठूलो भूगोल, समुद्री बन्दरगाह वा दशकौं लामो औद्योगिक इतिहास आवश्यक पर्दैन। भौतिक सीमाले नपुग्ने ठाउँमा डिजिटल सेवाले पुग्छ। सफ्टवेयर, डिजिटल सेवा, साइबर सुरक्षा, एआई, वित्तीय प्रविधि, शिक्षा प्रविधि, डिजाइन र अन्य नलेजमा आधारित सेवाबाट सानो देशले पनि विश्व बजारमा प्रवेश गर्न सक्छ। ठूला देशका बीचमा रहेर पनि नलेज इकोनोमीले नेपाललाई ‘भौगोलिक अवरोध’ होइन, ‘डिजिटल पुल’ बनाउने अवसर दिन्छ। नेपालले यसको सुरुआती संकेत देखाइसकेको छ।
विश्व बैंकका अनुसार नेपालमा ३ सय ५० भन्दा बढी प्रविधि स्टार्टअप छन्। सफ्टवेयर, शिक्षा, स्वास्थ्य, यात्रा, ई–कमर्स र अन्य डिजिटल क्षेत्रमा व्यवसायहरू विकसित भइरहेका छन्। सूचना प्रविधि सेवाले भौतिक पूर्वाधारका केही सीमालाई छल्दै दक्ष युवाका लागि अन्तर्राष्ट्रिय बजार खोल्न सक्छ। फ्युजमेसिन्स यही प्रश्न बुझाउने महत्वपूर्ण उदाहरण हो। नेपाली प्रतिभा समीर मास्केको नेतृत्वमा रहेको यो कम्पनीले नेपालका युवाहरूलाई कम्प्युटर र कृत्रिम बुद्धिमत्ता (एआई) को तालिम दिएर विदेशका लागि काम गर्दै आएको छ। कम्पनीले २०२५ अक्टोबर २३ मा अमेरिकाको ठूलो सेयर बजार ‘नास्डाक’ मा ‘फ्युज’ नामबाट कारोबार सुरु गर्यो। यो नेपालको प्रविधि क्षेत्रका लागि निकै ठूलो र गर्वको कुरा हो। यसले नेपालीहरूले पनि विश्व बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाएको छ। यो सफलता महत्वपूर्ण छ। तर यसलाई नेपालको नलेज इकोनोमीको अन्तिम उपलब्धि ठान्नु गलत हुन्छ। यसको वास्तविक महत्व अर्को ठाउँमा छ।
एउटा फ्युजमेसिन्स सम्भव भयो भने सयौं किन सम्भव हुँदैनन् ?
यही प्रश्नको उत्तर नेपालका संस्थामा र पोलिटिकल एस्पिरेसनमा खोज्नुपर्छ । नेपालको समस्या प्रतिभाको कमी होइन। प्रतिभालाई आर्थिक शक्तिमा बदल्ने प्रणाली कमजोर हुनु हो। विश्व बैंकका अनुसार १९९६ देखि २०२३ सम्म नेपालको वास्तविक आर्थिक वृद्धि औसत ४.२ प्रतिशत रह्यो, दक्षिण एसियाका आठ देशमध्ये छैटौं। कम उत्पादकत्व, घट्दो निर्यात र सुस्त औद्योगिक क्षेत्रले पर्याप्त गुणस्तरीय रोजगारी सिर्जना गर्न सकेका छैनन्। सीमित घरेलु अवसरका कारण युवा विदेश जान बाध्य छन्। यही संरचनाले नेपालको अर्थतन्त्रलाई रेमिट्यान्समा निर्भर बनाएको छ। यहीँ डायस्पोरा नेपालको ठूलो सम्पत्ति बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !