पहिलो सिजनको एनभीएल उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भिड्दै छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेलमार्फत यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।
अन्नपूर्ण लिग चरणमा चार जितसहित १२ अङ्क जोडेर सिधै फाइनल प्रवेश गरेको थियो। कर्णाली शिवराजले भने प्लेअफमा काठमाडौं रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
लिग चरणको खेलमा भने कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर किङ्सलाई पराजित गरेको थियो। लिग चरणको शीर्ष स्थानमा रहेर फाइनल पुगेकाले अन्नपूर्णको मनोबल उच्च छ भने प्लेअफमा काठमाडौंलाई हराएकाले कर्णालीको आत्मबल पनि बलियो देखिन्छ।
दुवै टोलीले आफूहरू उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। प्लेअफमा काठमाडौंलाई पराजित गरेपछि कर्णाली शिवराजका सहायक प्रशिक्षक दीपेन्द्रप्रसाद भट्टले टोली उपाधि जित्न तयार रहेको बताएका थिए।
त्यस्तै, लिग चरणको अन्तिम खेलमा खप्तड फाल्कन्सलाई पराजित गरेपछि अन्नपूर्ण स्पाइकर किङ्सका मार्की खेलाडी तथा कप्तान हिमाल सुनारीले जुनसुकै टोली आए पनि आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका थिए।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जसमध्ये विजेता टोलीले नगद २० लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतिक्रिया दिनुहोस !