पहिलो संस्करणको नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाइकर किंग्सलाई

पहिलो संस्करणको नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाइकर किंग्सलाई
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ। केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पहिलो संस्करणको उपाधि जितेको हो। 

अन्नपूर्णले कर्णालीलाई २५–१५, २५–२०, २५–१८ ले हराउँदै राउन्ड रोविन लिगमा बेहोरेको हारको बदला पनि लियो। अन्नपूर्णका उरनबयार मुंखबयार ‘प्लेयर अफ द म्याच’ घोषित भए। उपाधिसंगै अन्नपूर्णले २० लाख तथा कर्णालीले पाँच लाख रुपैयाँ नगद पुरस्कार हात पारे।

अन्नपूर्ण लिगको आफ्नो पहिलो खेलमै कर्णालीसँग १–३ ले चुकेको थियो। अन्नपूर्णले त्यसपछिका चारै खेलमा भने नतिजा आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको थियो। अन्नपूर्ण १२ अंकका साथ लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। लिगमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–०, मधेस वारियर्सलाई ३–१, खप्तड फाल्कन्सलाई ३–० र सगरमाथा स्म्यासर्सलाई ३–१ सेटले हराएको थियो।

कर्णालीले फाइनल पुग्न काठमाडौंसँग प्लेअफ खेलेको थियो। उक्त खेलमा कर्णालीले ३–१ ले बाजी मार्दै अन्नपूर्णसँग फाइनल भेट पक्का गरेको थियो। लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकका साथ प्लेअफमा प्रवेश गरेका थिए। प्लेअफ पुग्ने दुई टोलीले फाइनल पुग्न खेल्नु पर्ने प्रावधान थियो।

व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कारमा पनि अन्नपूर्णको वर्चस्व रह्यो। सातमध्ये चार व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कार अन्नपूर्णका खेलाडीले जिते। अन्नपूर्णका उरनबयार मुंखबयार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १ लाख नगद पुरस्कार हात पारे। अन्नपूर्णका तुरमाण्डख गाँखुयाग उत्कृष्ट सर्भर र सेटर तथा अन्नपूर्णकै एन्ख–एर्देने जार्गाल्ट्सोत उत्कृष्ट अपोसिट हिटर चुनिए। यस्तै कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेस वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडिल ब्लकर र काठमाडौंका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर बने। सबै उत्कृष्टलाई ५० हजारका दरले पुरस्कृत गरिएको थियो। 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडिया र प्रबन्ध निर्देशक अश्विन केडिया, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय, नेपाल भलिबल लिगका सीओओ विकास खेतानलगायतले पुरस्कृत गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.