छोरी मसाबासँग नीनाले मागिन् माफी, भनिन्- ‘सिंगल मदरहुडलाई बढावा दिन्नँ’
काठमाडौं : बलिउड अभिनेत्री नीना गुप्ताले छोरी मसाबा गुप्तालाई एकल आमाका रूपमा हुर्काउँदाको कठिन अनुभव सार्वजनिक गरेकी छन्। उनले आफूले सिंगल मदरहुडलाई प्रोत्साहन नगर्ने बताउँदै यो अभिभावक र बच्चा दुवैका लागि निकै चुनौतीपूर्ण हुने धारणा राखेकी छन्।
नीनाका अनुसार सिंगल मदर बन्नु शारीरिक, मानसिक र आर्थिक रूपमा कठिन हुन्छ। उनले यस्तो अवस्थामा बच्चाले पनि कठिनाइ भोग्नुपर्ने भएकाले आफूले अरूलाई यो बाटो रोज्न सुझाव नदिने बताइन्।
नीनाले मसाबालाई उनको जन्म र बुबाको विषयमा उमेरअनुसार विस्तारै सत्य बताएको बताइन्। छोरीको मनमा आफ्ना बुबाप्रति नकारात्मक भावना नआओस् भनेर आफूले सोचेर-सम्झेर कुरा गरेको उनको भनाइ छ।
उनले मसाबा सानो हुँदा बुबा साथमा नभएको अवस्थाका लागि छोरीसँग पटक-पटक माफी मागेको पनि बताएकी छन्। नीनाले यो आफ्नो गल्ती भएको स्वीकार गर्दै मसाबाले आफूलाई बुझ्ने गरेको बताइन्।
नीना गुप्ता र वेस्ट इन्डिजका पूर्वक्रिकेटर भिभियन रिचर्ड्सबीचको सम्बन्धबाट मसाबाको जन्म भएको थियो। रिचर्ड्स त्यतिबेला विवाहित भएकाले उनीहरूबीच विवाह हुन सकेन। त्यसपछि नीनाले मसाबालाई एक्लै हुर्काएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !