विकास योजनामा खसेको पहिरो

विकास योजनामा खसेको पहिरो
सुन्नुहोस्

काठमाडौंमा न कठ्यांग्रिने जाडो हुन्छ, न हपहपी गर्मी। मौसमका हिसाबले मानव बसोबासका लागि सम्भवतः संसारकै सबैभन्दा उत्कृष्ट राजधानी नेपालकै हुनुपर्छ। न यहाँ बाढी–पहिरोको भय छ, न अन्य विपत्तिको। अव्यवस्थित बसोवासका कारण हालैका वर्षहरूमा हामीले बाढी र डुबान निम्त्याएका हौं, तर प्रकृतिले भने काठमाडौंलाई ती बाढी र डुबानको भयबाट मुक्त नै राखेको थियो। वायु प्रदूषण पनि हामीले नै निम्त्याएका हौं र फोहोर पनि हामीले नै। जुनसुकै अन्नबाली पनि फस्टाउने माटो यहींको छ, धेरैजसो फलफूल र बोट वनस्पतिका लागि सुहाउँदो हावापानी पनि। त्यही भएर हुनुपर्छ– देशको मात्रै होइन, दक्षिण एसियाकै पुरातन सभ्यतामध्येको एक सहर हो, नेपाल खाल्डो।

नेपाल भन्ने देश जब काठमाडौं उपत्यकामा मात्र सीमित थियो, यो दक्षिण र उत्तर जोड्ने सेतु थियो। तिब्बत र भारतीय बजारका उपभोक्ताका लागि यो प्रमुख आपूर्तिकर्ता थियो। आज भने काठमाडौं यति घनाबस्तीमा परिणत भयो कि बाहिरी सम्पर्क विच्छेद हुँदा हाहाकार मच्चिन थाल्छ।

अस्ति भर्खरै ग्यासको हाहाकार भयो। काठमाडौं पूर्णतः परनिर्भरताले गाँजियो। आज भने आफ्नै आवश्यकताका लागि मात्रै होइन, देशको प्रमुख प्रशासकीय केन्द्र हुनुको नाताले पनि मेचीदेखि महाकालीसम्मको सिंगो देश यो सहरसँग जोडिनै पर्छ। तर, राजधानी जोड्ने राजमार्गहरू अर्थात् यसका ‘लाइफलाइन’हरू यति कमजोर छन् कि प्रत्येक बर्खामा अवरुद्ध हुन्छन्। यसपालि पनि भइरहेका छन्।

हामीले राजधानी सहरलाई राजधानी जस्तो कसरी बनाउन सकेनौं भन्ने त यसपालिको बर्खाले फेरि देखाइसक्यो, जहाँ एकझर पानी पर्नासाथ हाम्रो राजधानीको बाँकी देशसँग सम्बन्ध टुट्न बाध्य हुन्छ। मुख्य राजमार्गका रूपमा पृथ्वी राजमार्गमात्रै छ र वैकल्पिक साना मार्गहरू भरपर्दा छैनन्। बर्खाको पानीले पहिरो चलाउँछ र सबै बाटो अवरुद्ध पार्छ, अनि राजधानीसँगको सम्पर्क टुट्छ। ४० लाख जनसंख्या बसोबास गर्ने देशको मुख्य प्रशासनिक केन्द्रलाई तराई र अन्य भूभागसँग जोड्ने लाइफलाइन मानिएका पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ र त्रिभुवन राजपथका ठाउँ–ठाउँमा खसेको पहिरोले यातायातका साधनको आवतजावत ठप्प छ।

एउटा पहिरो खस्दा वा नदीले कटान गर्दा राजधानीसँग सम्पर्क विच्छेद हुनु केवल प्राकृतिक भवितव्य होइन। हामीले कहिल्यै राजधानीसँगको सम्बन्ध सेतुका बाटाहरू भरपर्दा बनाएनौं र विकल्पहरू पनि सोचेनौं। खासमा हाम्रो विकास योजनामा उहिल्यै पहिरो गएको हो। हाम्रो दृष्टिकोणमा उहिल्यैदेखि कटान भइसकेको हो। हरेक वर्ष बर्खाले पहिरो ल्याएर बाटो अवरुद्ध पार्दा तत्काल पन्छाउन सक्ने सामान्य उपकरणको समेत हामीले भरपर्दो जोहो गर्न सकेका छैनौं। कृष्णभीरमा ठूलो पहिरो आउँदा १८ दिनसम्म राजमार्ग नखुल्नु बेग्लै कुरा हो, तर सानातिना पहिरो पन्छाउन पनि धेरै दिन लगाउँछौं।

राजधानी जोड्ने त्रिभुवन र कान्ति राजपथको स्तरोन्नति कहिल्यै हाम्रो प्राथमिकताको विषय भएन। पृथ्वी राजमार्गको समानान्तर वैकल्पिक राजमार्ग निर्माणमा पनि वास्तै गरेनौं। र, सबैभन्दा विडम्बना त तराई–मधेस जोड्ने द्रुतमार्ग पनि हामीले निर्धारित समयमा सकेनौं। निर्धारितभन्दा दोब्बर समय अर्थात् ९ वर्ष घर्किँदा आधामात्रै काम सकेका छौं। यो केवल राजधानी केन्द्रित विषयमात्रै नभएर हाम्रो समग्र विकास रणनीतिमै गएको पहिरो र अवरुद्धता हो। सडक निर्माणको परम्परागत ढाँचा नबदलेसम्म राजधानी काठमाडौंले यस्तै पीडाको भुक्तमान भइरहनुपर्छ।

अब कृष्णभीरजस्ता ठाउँमा पहिरो पन्छाएर मात्रै साध्य नहुने भइसक्यो। सुरुङमार्ग, भायाडक्ट वा अरू आधुनिक प्रविधि नै चाहिने देखियो। जतिसक्दो चाँडो द्रुतमार्गको निर्माण पूरा गर्नुपर्यो। पृथ्वी राजमार्गको समानान्तर वैकल्पिक राजमार्ग छिटो निर्माण गर्नुपर्‍यो। देशको राजधानीको आपूर्ति व्यवस्था सधैं अवरुद्ध भइरहनु यहाँका नागरिकलाई जटिलताको सामना गराउनुमात्र होइन, देशको अर्थतन्त्रमाथिको ठूलो धक्का पनि हो। किनकि, काठमाडौं केवल राजनीतिक वा प्रशासनिक राजधानीमात्रै होइन, देशको एक प्रमुख आर्थिक केन्द्रसमेत हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.