लोडसेडिङको विकल्प खोजौं

लोडसेडिङको विकल्प खोजौं
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित बाचापत्र चुनाव अघि सार्वजनिक गरेको थियो। अनि वालेन्द्र शाह सरकार गठनलगत्तै जारी १०० बुँदे कार्ययोजनामा लाइसेन्स राजको अन्त्य गर्ने भनिएको थियो। 

त्यसअनुसार लाइसेन्सराजमाथि निशानाचाहिँ सरकारले साँध्यो पनि। सरकार गठन भएको बल्ल ६ महिनामात्रै भएको हुँदा ३० हजार मेगावाट उत्पादनको सुरुआती संकेतको आशामात्रै गर्न सकिन्छ, उत्पादन सुरु नै हुनसक्ने अवधि होइन हो।

लाइसेन्सराज अन्त्य गर्न खोजिएको प्रयासचाहिँ उत्पादन लक्ष्यउन्मुख कदम हो भन्न सकिन्छ। लक्ष्य राख्नु एउटा कुरा हो, धरातलीय यथार्थचाहिँ अर्को। आजको वास्तविकता झन् कठोर छ। भदौ १० गतेको भोटेकोशी बाढीले उत्पादन र प्रसारण प्रणाली ध्वस्त पार्दा ६४० मेगावाट विद्यत् राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ। देशभर १२ सय ९२ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित बनेका छन्। अबको हिउँदमा भारतबाट ११ सय ५४ मेगावाट विद्युत् आयात गर्नुपर्ने बाध्यता बनेको छ।

भन्न त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले दसैं–तिहारमा लोडसेडिङ नहुने दाबी गरेका छन्। तर, हिउँदका चिसा दिनहरू बिजुली अभावमा थप कठ्यांग्रिने भने निश्चितजस्तै देखिएको छ। त्यसअघि नै सरकार तात्यो भनेचाहिँ केही फरक पर्न सक्छ। केही क्षति भएका १५५ मेगावाटका आयोजनालाई आगामी २–४ महिनाभित्रै प्रणालीमा फर्काउन सरकार तात्नुपर्छ। त्यतिचाहिँ सरकारको बसभित्र नै हुनसक्छ। भोटेकोशी बाढी प्रकृतिको लीला थियो र हाम्रो बसमा थिएन। तर, हामीले सम्भावित जोखिमको कम आकलन गरेर पूर्वाधार निर्माण गरेको चाहिँ छर्लङ भयो। हाम्रो अदूरदर्शिता पक्कै देखियो। पूर्वाधार सुरक्षाका उपायमा हामी चुक्यौं। जे हुनु भइसक्यो। दुर्घटना आफैंले भोगेर सिक्ने पाठ होइन, तर पनि सिक्यौं हामीले। अब फेरि त्यही प्रवृत्ति नदोहो¥याउनु बुद्धिमत्ता हुनेछ।

बिजुली अभाव हुनु आफैंमा ठूलो समस्या हो। बिजुली केवल उज्यालो बत्ती होइन, ऊर्जा हो। उद्योगधन्दा कलकारखाना बिजुली बिना चल्दैन। अर्थतन्त्रकै लागि ऊर्जा हो बिजुली। मेरुदण्ड नै हो। बत्तीमात्रै भएन भने त्यसले हातमुख जोर्नेसम्मका समस्या कतिपयलाई निम्त्याउँछ, साना, मझौला व्यवसाय र उद्योग झन् ठूलो मारमा पर्छन्। हामी पछिल्लो समय भारतदेखि बंगलादेशसम्म बिजुली निर्यातका समाचारले उत्साहित भयौं। तर, हिउँद याममा आयात गर्न पनि कहिल्यै नपर्ने बनाउन सकेनौं। एउटा विपद् आउनासाथ हामीलाई जनधनको क्षति त अपूरणीय नै भयो, त्यसमाथि फेरि बिजुलीमा परनिर्भर हुने भयौं। यो अर्को ठूलो विडम्बना हो। सरकारले कुलेखानीको पानी रणनीतिपूर्वक उपयोग गर्ने भनेको छ। त्यो विवेकी निर्णय हुनसक्छ। क्षतिग्रस्त आयोजनाको मर्मतलाई पनि द्रुत गतिमा सक्नुपर्छ। काठमाडौंका कतिपय स्थानमा भार स्थानान्तरण गर्ने तयारी पनि उचित हो। तर, आयातसहितका यी सबै स्थायी समाधान होइनन्।

सबैभन्दा महत्वपूर्ण त हामीले जलविद्युत् उत्पादनको रफ्तार पनि उच्चगतिमा लैजानुपर्ने देखिन्छ। सँगै पूर्वाधार सुरक्षाको बन्दोबस्त गतिलो हुनुपर्छ, बनाउनुपर्छ। विपद् प्रतिरोधी जलविद्युत् संरचना निर्माण गर्नुपर्छ। पुनर्निर्माणका बेला पनि यही कुरा ख्याल गर्नुपर्छ। जोखिम धान्ने प्रसारण लाइन निर्माण अर्को महत्वपूर्ण खाँचो हो। १० वर्षमा ३० हजार मेगावाट उत्पादन होला नहोला, रास्वपा सरकारले आफ्नो कार्यावधिमा अरू यस्ता विपद् आउँदा पनि मुलुकमा बिजुलीको किमार्थ अभाव नहुने व्यवस्था गर्न सकेमात्रै पनि ठूलो उपलब्धि हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.