अन्योलमा रोनाल्डोको करिअर

अन्योलमा रोनाल्डोको करिअर
सुन्नुहोस्

काठमाडौं : क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य यति विवादित होला भन्ने सायदै कसैले सोचेका थिए। विश्वकपपछि अर्जेन्टिनाका लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गर्दा रोनाल्डोले भने पोर्चुगलका लागि खेलिरहने बताएका थिए। तर, अहिले अवस्था फेरिएको छ। प्रशिक्षक जर्ज जेसुससँगको विवादपछि रोनाल्डो राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। अब उनको पोर्चुगलसँगको यात्रा कहाँ पुगेर रोकिएला भन्ने प्रश्न उठेको छ।

रोनाल्डोले नर्वेविरुद्धको नेसन्स लिग खेलमा सुरुवात गरेनन्। उनी दोस्रो हाफभरि वार्मअप गरिरहे पनि मैदान प्रवेशको अवसर पाएनन्। खेल सकिएपछि सहकर्मीसँगै समर्थकलाई अभिवादन गर्नुको सट्टा उनी सिधै ड्रेसिङ रुमतर्फ लागे। त्यसको केही समयपछि प्रशिक्षक जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डो सुरुवाती टोलीमा नपर्ने बताए। यही निर्णयपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।

क्याम्प छाड्दै रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफू राष्ट्रिय टोलीप्रति सधैं समर्पित रहेको र उचित समयमा पोर्चुगिज जनतालाई आफूले टोली छाड्नुको कारणबारे सत्य बताउने बताए। पोर्चुगिज फुटबल संघका अध्यक्ष पेड्रो प्रोएन्साले समेत समस्या समाधानका लागि रोनाल्डोसँग कुरा गर्ने प्रयास गरे। उनी कोपेनहेगन पुगेर रोनाल्डोसँग छलफल गरे पनि तत्काल समाधान निस्कन सकेन।

रोनाल्डो र पोर्चुगलको सम्बन्ध भने सामान्य खेलाडी र राष्ट्रिय टोलीबीचको सम्बन्ध होइन। उनले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। दुवै अन्तर्राष्ट्रिय फुटबलका विश्व कीर्तिमान हुन्। पोर्चुगललाई युरोपियन च्याम्पियनसिपको उपाधि दिलाउन उनको महत्वपूर्ण भूमिका रह्यो। देशको फुटबलमा लामो समय खर्चेका रोनाल्डोको अन्तर्राष्ट्रिय यात्रा विवादबीच टुंगिने हो भने त्यो पोर्चुगिज फुटबलका लागि पनि राम्रो बिदाइ हुने छैन।

यो विषयलाई लिएर रोनाल्डोका लागि समर्थन र आलोचना दुवै उत्तिकै तीव्र छन्। लिस्बनसहित विभिन्न स्थानमा रोनाल्डोको समर्थनमा पोस्टर टाँसिएका छन्। केही समर्थकले जेसुसले राष्ट्रिय टोलीका कप्तानसँग गलत व्यवहार गरेको आरोप लगाएका छन्। 

अर्कोतर्फ पोर्चुगलका केही समर्थक र सञ्चारमाध्यमले भने रोनाल्डोको व्यवहारलाई स्वार्थी भन्दै आलोचना गरेका छन्। डेनमार्कविरुद्धको खेलमा समेत समर्थकहरू रोनाल्डोको जर्सीमा देखिए। केही समर्थकले भने प्रशिक्षक जेसुसको समर्थन गरेका थिए। हालको परिप्रेक्ष्यमा पोर्चुगल २ भागमा विभाजित बनेको छ।

केही समर्थकले ‘धन्यवाद क्रिस्टियानो रोनाल्डो हरेक चिजका लागि, तपाई सधैं हाम्रो कप्तान रहिरहनुहुनेछ’ भनिरहेका छन्। केहीले लेख्छन्, ‘जर्ज जेसुसले लिएको निर्णय गलत थियो। उनी संवेदनशील हुनुपर्ने थियो। उनले कप्तानलाई गरेको व्यवहार सही भएन।’

त्यसो त केही समर्थकहरू प्रशिक्षक जेसुसको समर्थनमा पनि थिए। डेनमार्कसँगको खेलमा केही समर्थकले ‘लभ यू जेसुस’को टि सर्टमा देखिएका थिए।

यस विवादले प्रशिक्षक जेसुस र रोनाल्डोबीचको सम्बन्धलाई पनि केन्द्रमा ल्याएको हो। जेसुस गत सिजन अल नासरमा रोनाल्डोकै प्रशिक्षक थिए। तर, अहिले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि उनले रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरे । 

नर्वेलाई हराएपछि जेसुसले रोनाल्डो फर्किन चाहेमा राष्ट्रिय टोलीमा उनको स्वागत हुने बताएका छन्। ‘राष्ट्रिय टोलीसँग आफ्नो समय कसरी अन्त्य गर्ने भन्ने निर्णय रोनाल्डोले नै गर्नुपर्छ,’ प्रशिक्षक जेसुसले बीबीसीसँग भनेका छन्।

यो घटनाले रोनाल्डोको विगतलाई पनि डोर्‍यायो। पछिल्लो समय रोनाल्डोको उमेर र प्रदर्शनलाई लिएर पनि बहस बढेको छ। ४१ वर्षको उमेरमा पनि उनी १ हजार करिअर गोल पूरा गर्ने लक्ष्यमा छन्। हालः उनको नाममा ९७९ गोल छन्। तर, पछिल्लो विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिँदा रोनाल्डोको प्रभाव अपेक्षाअनुसार देखिएन। आलोचकहरूले उमेरसँगै उनको मैदानमा प्रभाव घट्दै गएको बताइरहेका छन्।

अर्कोतर्फ तथ्यांकले पोर्चुगल रोनाल्डोबिना पनि बलियो रहेको देखाउँछ। पछिल्ला नौ वर्षमा रोनाल्डोबिनाको खेलमा पोर्चुगलको जित प्रतिशत ६४ रहेको छ भने रोनाल्डोसहित ६३ प्रतिशत छ। रोनाल्डोबिना पोर्चुगलले प्रतिखेल औसत २.७ गोल गरेको छ भने उनीसहित २.१ गोल गरेको छ। लक्जेम्बर्गविरुद्ध ९-० र आर्मेनियाविरुद्ध ९-१ को जित पनि रोनाल्डोबिनाकै खेलमा आएको थियो।

तथ्यांकले मात्रै रोनाल्डोको महत्त्व मापन भने गर्न सकिँदैन। पोर्चुगलका लागि उनी केवल गोलकर्ता होइनन्, एउटा युगको प्रतिनिधित्व गर्ने खेलाडी हुन्। पछिल्ला पाँच प्रशिक्षकहरूमध्ये कार्लोस क्विरोज, पाउलो बेन्तो, फर्नान्डो सान्तोस र अहिले जेसुससँग रोनाल्डोको कुनै न कुनै विवाद देखिएको छ। पोर्चुगलसँग प्रतिभाशाली नयाँ पुस्ता तयार भइरहेका बेला रोनाल्डो वरिपरि निरन्तर हुने विवाद टोलीका लागि विचलन बन्न सक्ने विश्लेषण पनि भइरहेको छ।

अब सबैको नजर नोभेम्बरमा डेनमार्कविरुद्ध हुने पोर्चुगलको अर्को खेलमा हुनेछ। रोनाल्डो फर्किन्छन् कि राष्ट्रिय टोलीसँगको १८ वर्षभन्दा लामो यात्रा यहीँबाट अन्त्य हुन्छ, त्यो उनको निर्णयमा निर्भर गर्छ।

रोनाल्डोको कुरा आएपछि फुटबलका अर्का स्टार लियोनल मेस्सीको सन्दर्भ नजोडिएको विरलै हुन्छ। ३९ वर्षीय मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई सफल यात्रापछि बिदाइ दिने तयारी गरिरहँदा रोनाल्डो भने पोर्चुगलमा आफ्नै भविष्यको सबैभन्दा कठिन निर्णयको सामना गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.