गुमनाम हिमालका हिरोहरू
काठमाडौं : काठमाडौंको कोलाहल छाडेर जब आँखाहरू उत्तरतिर सोझिन्छन्, चाँदीजस्तै टल्कने ती हिमशृंखलाहरूले मानौं कुनै अलौकिक दुनियाँको निमन्त्रणा दिइरहेका हुन्छन्। सर्वाेच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहितविश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा त हाम्रै आँगनमा उभिएका छन्।
प्रत्येक वर्ष हजारौं विदेशी आरोहीहरू आफ्नो सपना, महत्त्वाकांक्षा र लाखौं डलरको बजेट बोकेर यहाँ आइपुग्छन्। मिडियामा खबरहरू छाउँछन्, ‘फलानाले यति मिनेटमा शिखर चुमे’, ‘यति वर्षका आरोहीले बनाए नयाँ रेकर्ड’, अनि सरकार खुसी हुन्छ— ‘यसपालि रोयल्टीबाट यति करोड वा अर्ब रुपैयाँ आम्दानी भयो।’
तर, ती चम्किला हेडलाइन र खुसीका तथ्यांकभन्दा धेरै टाढा, हिमालको सेतो क्यान्भासमा रातो रगत र तातो पसिना बगाउने मान्छेहरूको कथा भने सधैं ओझेलमा पर्छ। ती हुन्— हिमालका असली जग, अदृश्य नायकहरू भनेर चिनिने डोरी टाँग्ने, बाटो बनाउने र आरोहीका भारी चुचुरोमा पुर्याउने कामदार।
जब कुनै विदेशी आरोहीले शिखरमा उभिएर दुवै हात हावामा लहराउँछ, त्यो सफलताको जगमा हजारौं किलोको भारी बोक्ने भरियाको ढाड, मृत्युको मुख मानिने आइसफलमा भर्याङ टाँग्ने आइसफल डाक्टर, अक्सिजनको सिलिन्डर बोकेर अघि–अघि हिँड्ने गाइड र हाइ–अल्टिच्युड वर्करहरू उभिएका हुन्छन्। विडम्बना ! कीर्तिमानीको चकाचौध र रोयल्टीको व्यापारमा तिनै ‘हिमालका हिरोहरू’ भने गुमनाम, असुरक्षित र ओझेलमा पारिएका छन्।
यी हुन् असली हिरो
पर्वतारोहण कुनै जादु होइन, यो अति जोखिमपूर्ण कठोर यात्रा हो। विदेशी पर्यटकले त केवल गाइडले तय गरिदिएको सुरक्षित पाइलामा आफ्नो पाइला मिलाउने मात्र हुन्। तर, त्यो पाइला सार्न योग्य बाटो कसरी बन्छ ? सगरमाथा आरोहणको सबैभन्दा खतरनाक मानिने ‘खुम्बु आइसफल’मा हरेक सिजनमा सबैभन्दा पहिले प्रवेश गर्ने र ज्यान हत्केलामा राखेर बाटो बनाउने टोलीलाई ‘आइसफल डाक्टर’ भनिन्छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)मार्फत खटिने यी शेर्पाहरूले निरन्तर सरिरहने हिमनदी र गहिरा खसिन्चाहरूमा भर्याङ र डोरी टाँग्दै सम्पूर्ण आरोहीका लागि सुरक्षित बाटो पहिल्याउँछन्। अरू आरोही बेसक्याम्पमा तातो चियाको चुस्की लिँदै मौसम अनुकूल हुने पर्खाइमा रहँदा, यी आइसफल डाक्टरहरू भने ज्यानको बाजी थापेर मृत्युको मुख मानिने क्षेत्रमा खटिसकेका हुन्छन्।
त्यस्तै, गाइड र हाइ–अल्टिच्युड वर्करहरूको कथा झनै मार्मिक छ। विदेशी आरोहीको अक्सिजन सिलिन्डर बोक्ने, माथिल्ला क्याम्पहरूमा टेन्ट टाँग्ने, खाना पकाउने र उनीहरूलाई शिखरसम्म पुर्याएर सुरक्षित तल फर्काउने मुख्य जिम्मेवारी यिनीहरूको हुन्छ। प्रायः विदेशी आरोही बिरामी पर्दा वा अक्सिजन सकिँदा आफ्नै अक्सिजन दिएर जीवन जोगाउने काम यिनै गाइडहरूले गर्छन्। अनि, सगरमाथाको तल्लो क्षेत्र, जस्तै लुक्लादेखि बेसक्याम्पसम्म र बेसक्याम्पबाट माथिल्ला क्याम्पहरूमा बन्दोबस्तीका सामग्री, खाना, इन्धन र भारी पुर्याउने आधार स्तम्भ भरिया र कुकहरू हुन्। वल्र्ड एक्सपेडिसनलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले पनि स्वीकारेका छन् भरियाहरू बिना कुनै पनि हिमाली पदयात्रा वा आरोहणको परिकल्पना असम्भव छ।
हामी हिमालको सुन्दरतामा हराउँछौं, तर इतिहास र आधिकारिक तथ्यांकले अर्कै क्रूर यथार्थ बोल्छन्। सगरमाथामा ज्यान गुमाउनेहरूमध्ये लगभग ४० प्रतिशत हिस्सा स्थानीय गाइड, आइसफल डाक्टर र भरियाहरूकै हो— जुन तिनीहरूको समग्र सहभागिताको तुलनामा असामान्य रूपमा उच्च अनुपात हो। हिमालयन डाटाबेसको हालैको संकलनअनुसार, सन् १९२१, २२ देखि २०२५ सम्म सगरमाथामा ज्यान गुमाउने झन्डै ३ सय ४६ जना आरोहीहरूमध्ये १ सय ३२ जना हिमालमा काम गर्ने नेपाली कामदार हुन्। यी प्रायः शेर्पा गाइड र भरिया नै हुन्।
विदेशी आरोहीहरू जीवनमा एकपटक वा सीमित दिनका लागि जोखिमपूर्ण क्षेत्रमा जान्छन्। तर, आइसफल डाक्टर र गाइडहरू एउटै सिजनमा दर्जनौं पटक खुम्बु आइसफलजस्ता खतरनाक क्षेत्र ओहोरदोहोर गर्छन्। सामान्य ग्राहकले सिजनमा ४–६ पटक आइसफल पार गर्दा, यी गाइड र आइसफल डाक्टरहरूले ३० देखि ४० पटकसम्म पार गर्नुपर्छ। यही बारम्बारको जोखिम–उजागरका कारण स्थानीय कामदारको मृत्युदर अत्यधिक उच्च छ।
इतिहासका केही पाना पल्टाउँदा मन अमिलो भएर आउँछ। सन् २०१४ अप्रिल १८ का दिन बिहान ६ः४५ बजे खुम्बु आइसफलमा गएको विशाल हिमपहिरोमा परी १६ जना नेपाली गाइड र आइसफल डाक्टरले एकैदिन ज्यान गुमाएका थिए। यो सगरमाथा आरोहणको इतिहासकै सबैभन्दा घातक एकल दुर्घटना थियो, जहाँ उनीहरू अरूका लागि डोरी टाँग्न र भारी बोक्न बिहानै पुगेका थिए। त्यस्तै सन् २०१५ अप्रिल २५ को महाभूकम्पपछि सगरमाथा बेसक्याम्पमा आएको विनाशकारी हिमपहिरोमा परी कम्तीमा १९ जनाको ज्यान गयो, जसमा धेरैजसो स्थानीय सहयोगी, कुक र कामदार नै थिए।
रोयल्टीको होडबाजी र कीर्तिमानीको ग्ल्यामर
हाम्रो पर्यटन नीति, सञ्चारमाध्यम र सरकारी बहस भने दुई कुरामा मात्र रमाउँछ— रोयल्टीको होडबाजी र कीर्तिमानीको ग्ल्यामर। सेप्टेम्बर १, २०२५ देखि नेपाल सरकारले वसन्त सिजनमा सामान्यमार्गबाट सगरमाथा चढ्ने विदेशी आरोहीको रोयल्टी दर प्रतिव्यक्ति ११ हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्याएको छ।
यो सन् २०१५ पछिको पहिलो वृद्धि हो। शरद् र जाडो (वर्षायाम) का दरहरू पनि बढेका छन् भने नेपाली आरोहीको वसन्त सिजनको रोयल्टी ७५ हजार रुपैयाँबाट दोब्बर रुपैया १ लाख ५० हजार पुर्याइएको छ। सरकारले सगरमाथा र अन्य हिमालबाट वार्षिक अर्बाैं रुपैयाँ रोयल्टी त उठाउँछ, तर त्यो रोयल्टीको सानो अंश पनि गाइड, भरिया वा आइसफल डाक्टरको दिगो सुरक्षा, कल्याणकारी कोष वा उनीहरूका बालबच्चाको शिक्षामा सोझै
लगानी हुँदैन।
अर्काेतिर, सञ्चारमाध्यममा ‘कसले कति समयमा चढ्यो ? ’ कुन विदेशीले कस्तो अनौठो कीर्तिमान बनायो ? भन्ने खबरले प्राथमिकता पाउँछन्। यसको एउटा नमीठो तर मार्मिक उदाहरण हालै देखियो।
पूर्वगोर्खा सैनिक तथा १४ वटै आठहजारी हिमाल जम्मा ६ महिना ६ दिनमा चढेर विश्वविख्यात बनेका आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य ९ जना सहयात्रीसहितको टोलीको अगस्ट १ मा पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोमा परी ज्यान गयो। उनको मृत्युको खबर विश्वभरका ठूला सञ्चारमाध्यममा शीर्ष समाचार बन्यो र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले समेत श्रद्धाञ्जलि दिए। तर, सोही दुर्घटनामा मृत्यु भएका नेपाली आरोही निमा शेर्पा र किली पेम्बा शेर्पा, अनि पाकिस्तानी गाइड (फोटोग्राफर) सोहेल साखीलगायतका अन्य सहयात्रीहरूको नाम अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पुर्जाको तुलनामा निकै पछाडि र संक्षिप्त रूपमा मात्र आयो। एउटै हिमपहिरोमा परी मर्दा पनि कसको नाम शीर्षक बन्छ र कसको नाम पछाडि पर्छ ? यही विभेदले कीर्तिमानीको चमकधमकमा वास्तविक बाटो बनाउने र साथ दिने स्थानीय कामदारको योगदान सधैं ओझेलमा पारिने यथार्थलाई फेरि उजागर गरिदियो।
नेपालको विद्यमान कानुनी व्यवस्था र व्यावहारिक कार्यान्वयनमा अझै ठूला त्रुटिहरू छन्। नेपालको पर्यटन ऐन, २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार पर्वतारोहणमा जाने गाइड र कामदारको बिमा अनिवार्य त गरिएको छ। पर्वतारोहण नियमावलीको छैटौं संशोधन (२०२५)पछि, सरदार, गाइड र हाइ अल्टिच्युड वर्करको दुर्घटना बिमा पहिलेको १५ लाख रुपैयाँबाट बढाएर २० लाख रुपैयाँ पुर्याइएको छ भने आरोहीका लागि छुट्टै न्यूनतम ५० लाख रुयैयाँको मृत्यु तथा शव ढुवानी बिमा अनिवार्य गरिएको छ। यद्यपि, भरियाको बिमा भने अझै पुरानै दर ८ देखि १० लाख रुपैयाँमा सीमित छ। आजको महँगीको समयमा यति सानो रकमले एउटा परिवारको मुख्य कमाउने सदस्य गुम्दा उसको परिवारको जीवनभरको लालनपालन कसरी होला ? विदेशी आरोहीहरूको लाखौं डलरको अन्तर्राष्ट्रिय बिमा हुँदा, उनीहरूकै ज्यान जोगाउने स्थानीय भरियाको जीवन भने अझै थोरै रकममा सीमित छ।
हिमालमा काम गर्ने कामदारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल पोर्टर र वल्र्ड एक्पेडिसनको पोर्टर सुरक्षासम्बन्धी नीतिले हिमाली भरियाहरूको कल्याणका लागि पाँच वटा स्पष्ट नियम तोकेको छ। जसमा भरियाहरूलाई चिसो र हावाबाट बचाउने गुणस्तरीय कपडा र गियर उपलब्ध गराउनु, आरोहणका क्रममा बोकाइने भारी अधिकतम ३० केजी भार सीमा कायम गर्नु, पर्यटकसरह न्यानो आवास र पोसिलो भोजन दिनु, बिरामी वा घाइते भएमा समान प्राथमिकताका साथ उपचार तथा उद्धार गर्नु र अनिवार्य जीवन बिमा गर्नु पर्ने उल्लेख छ। तर कागजमा नियम भए पनि व्यवहारमा धेरैजसो स्थानीय एजेन्सीहरूले सस्तोमा भरिया भर्ती गर्दा यी मापदण्डको उल्लंघन गरिरहेका छन्। यद्यपि, पर्यटन विधेयकमा भरिया तथा हाइ अल्टिच्युड कामदारको भारसीमा, अनिवार्य बिमा र असुरक्षित काम अस्वीकार गर्न पाउने अधिकार सुनिश्चित गर्ने प्रस्तावहरू परेका छन्, जुन सकारात्मक विषय
मान्न सकिन्छ।
अर्काेतिर, नियमानुसार हरेक आरोहण दलसँग बेसक्याम्पमा खटिएर मजदुरहरूको अधिकार, भार सीमा, बिमा र सुरक्षाको अनुगमन गर्ने जिम्मेवारी सरकारी सम्पर्क अधिकृतको हुन्छ। तर, अधिकांश सम्पर्क अधिकृतहरू काठमाडौंमै बसेर भत्ता बुझ्ने वा बेसक्याम्प पुगे पनि केही दिनमै फर्किने परिपाटीका कारण कामदारमाथि हुने शोषण रोकिन सकेको छैन। यतिमात्रै होइन हिमालमा हराउनेको तत्काल उद्धारका काममा पनि पहल गर्ने आधिकारिक निकायको अभाव भइरहेको हुन्छ।
नेपालको साहसिक पर्यटनलाई साँचो अर्थमा नैतिक, मर्यादित र सुरक्षित बनाउने हो भने राज्य र सरोकारवाला निकायले तत्काल केही ठोस कदम चाल्नैपर्छ। गाइड र हाइ—अल्टिच्युड कामदारको बिमा हालै २० लाख रुपैयाँ पुर्याइए जस्तै भरियाको दुर्घटना बिमा पनि कम्तीमा २० लाख पुर्याइदा मात्र न्याय हुन्छ। घाइते भएमा सम्पूर्ण उपचार खर्च एजेन्सी र सरकारले संयुक्त रूपमा व्यहोर्ने कानुनी ग्यारेन्टी हुनुपर्छ। सरकारले संकलन गर्ने पर्वतारोहण रोयल्टीको कम्तीमा १० प्रतिशत रकम सीधै एउटा छुट्टै ‘पर्वतारोहण मजदुर कल्याणकारी कोष’ मा जम्मा गरी दुर्घटनामा परेका कामदारका बालबच्चालाई निःशुल्क शिक्षा, छात्रवृत्ति र वृद्धावस्थामा पेन्सनको व्यवस्था गरेमा पेसाको सम्मान हुने सगरमाथा आरोही आङबाबु शेर्पा सुझाउँछन्।
यसका साथै, सगरमाथा वा अन्य हिमालमा बाटो बनाउने आइसफल डाक्टर र पहिलो डोरी टाँग्ने टोलीलाई राज्यले आधिकारिक दस्ताबेजमा स्थान दिनुका साथै राष्ट्रिय पदक र सम्मान प्रदान गर्नुपर्छ। श्रम ऐन, २०७४ को भावनाअनुसार मौसमी कामदार भए पनि हिमाली मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराइनुपर्छ, जसले काम नभएको सिजनमा पनि उनीहरूलाई जीवनयापनमा आड देओस्। बेसक्याम्पमा खटिने सम्पर्क अधिकृतको जीपीएस ट्र्याकिङमार्फत उपस्थिति अनिवार्य गरिनुपर्छ भने पदयात्रा मार्गका चेकपोस्टहरूमा भरियाको भारी तौलने र उनीहरूले लगाएको गियरको गुणस्तर जाँच गरेपछि मात्र अघि बढ्न दिने कडा व्यवस्था लागू हुनुपर्ने नेपाली आरोहीहरूको माग छ।
हिमालका चुचुराहरूमा लहराउने सफलताका झण्डाहरू केवल विदेशी पर्यटक वा ठूला एजेन्सीका होइनन्, ती झण्डा गाड्न आफ्नो रगत र पसिना बगाउने गाइड, आइसफल डाक्टर र भरियाहरूका हुन्। जसको ज्यानको जोखिम सबैभन्दा बढी छ, उसैको सुरक्षा, बिमा र सम्मान सबैभन्दा कमजोर हुनु राज्य र समग्र पर्यटन उद्योगको ठूलो नैतिक पराजय हो। रोयल्टीको आम्दानी र कीर्तिमानीको व्यापारबाट माथि उठेर जबसम्म नेपालका यी असली अदृश्य नायकहरूको जीवन, इतिहास र भविष्य सुरक्षित गरिँदैन, तबसम्म नेपालको साहसिक पर्यटनले विश्वमञ्चमा साँचो अर्थमा गौरव गर्न सक्ने छैन। हिमाल हाँसिरहला, तर ती हिमाल हँसाउने मान्छेहरूको अनुहार रुँदा हाम्रो पर्यटनको शिर उच्च हुन सक्दैन।
प्रतिक्रिया दिनुहोस !