सानो झुन्डले पार्टी फुटाउने र एकीकृत पार्टी नाम राख्ने वा नेकपा बहुमत राख्नेदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट भन्ने लगायतका थुप्रैथरी कम्युनिस्ट पार्टीका नाङ्ले पसल नेपालमा छन्।
अन्नपूर्ण पोस्ट् दैनिकको असोज २० गतेको प्रथम पृष्ठमा एउटा संयोग छ, पृष्ठको मुख्य समाचारमा छन् पुरानो लोकतान्त्रिक पार्टीलाई नेतृत्व दिइरहेका नेपाली कांग्रेसका युवा अनुहार गगन थापा। पुछारमा ७७ वर्षीय झलनाथ खनालमा जागेको अझै नेता बन्ने मृगतृष्णा। झलनाथ खनाल एक पात्रमात्रै होइनन्, यो प्रवृत्ति हो।
जीवनको उत्तरार्द्धमा आउँदा पनि पदको भोक लागिरहने र बाँचुञ्जेल राजनीति गरिहने प्रवृत्ति मूलतः नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको समान रोग हो। त्यसभन्दा भिन्न हुन नसकेका पात्रमात्रै हुन् खनाल। उनी एक्ला छैनन्। अहिले उनी पनि रहेको पार्टी नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल २०४२ सालदेखि पार्टी नेतृत्वमा छन् र ठ्याक्कै ४१ वर्ष शीर्ष पद ओगटिरहेका छन्। उनले अरूलाई बरु पार्टीबाट छाडेर जान दिए, आफूले पद हस्तान्तरण गरेनन्। एक सफल नेतृत्वको विशेषता भनेको उत्तराधिकारी तयार गर्नु पनि हो, तर उनी र उनीजस्ता कम्युनिस्ट नेताहरू त्यो गर्दैनन् र गर्न चाहन्नन् पनि किनभने बाँचुञ्जेल आफूलाई नै पदमा टाँसिने चाहने प्रवृत्ति छ। जसलाई उनीहरू ‘कार्यकर्ताको चाहना’, ‘आफू सक्रिय हुन सक्ने खुबी’ को संज्ञा दिन्छन् या ‘देश र जनताका लागि अझै डट्ने दृढता’ भनेर पाखण्डता प्रदर्शन गर्न कत्ति धक मान्दैनन्।
निर्वाचन आयोगमा गत फागुनको चुनावअघि दर्ता १ सय २५ पार्टीमध्ये १५ वटा कम्युनिस्ट पार्टीहरू छन्। यी त केवल दर्ता भएका पार्टीमात्रै हुन्। भूमिगत वा अर्धभूमिगत भन्ने वा यो व्यवस्थै ठीक छैन भनेर यहाँ संसदीय प्रतिस्पर्धामा भाग नलिने भनेर कोठे कम्युनिस्ट पार्टी चलाउनेहरू पनि अरू थुप्रै छन्। २००६ सालमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेको यो झन्डै ८० वर्षमा ५० पटक उक्त पार्टी विभाजित भएको छ। जति नेता उति नै कम्युनिस्ट पार्टी बनेका छन्। र, कस्तो भने जो फुटेर अर्को पार्टी बनाउँछ, उसले तुरुन्तै एकताको कुरा गर्छ, एउटै कम्युनिस्ट पार्टी बनाउने अभियान चलाउने उद्घोष पनि गर्छ। जस्तो कि झलनाथले अहिले सुरु गर्न लागेको ‘वाम वाम, एकै ठाउँ’ भन्ने अभियान।
उनकै पार्टीमा बलजफ्ती घुस्न गएका वामदेव गौतमले पनि एमालेबाट निस्किएर एकता अभियानै चलाए। उही पार्टी फर्किन दाम्लो चुँडाले, केपी ओलीले ढिम्कनै दिएनन् र फेरि माधव नेपालको पार्टीमा गए। त्यसो त वामदेव तिनै नेता हुन्, जसले ५० को दशकको मध्यतिर एमाले फुटाएर माले बनाएका थिए र तत्कालीन एमालेले २०५६ सालको निर्वाचनमा ल्याउन सक्ने बहुमतलाई असम्भव तुल्याइदिएका थिए। र, आफू स्वयंले भने एक सिट पनि जितेका थिएनन्। उनी पनि जीवनको उत्तराद्र्धमा छन् र पनि खनालको जस्तै पदको भोक बेलाबेला सार्वजनिक गरिरहन्छन्। देशका लागि ठूलो योगदान गरेँ र त्यसको गुन देशले आफूलाई तिर्न सकेन भन्नेसम्मको निम्न कोटीको अभिव्यक्ति दिन धक मान्दैनन्।
पुष्पकमल दाहालले नेतृत्व गरिरहेको पार्टीले फागुनको चुनावअघि मात्रै झन्डै डेढ दर्जन पार्टीहरू एकीकरण गरेको बताएको थियो। तर ती पार्टी र तिनका नेताको नामसमेत कण्ठ स्वयं दाहाललाई थिएन। ती सबै पार्टी गठन भन्दै आफैंलाई अध्यक्ष स्वयं घोषणा गरेका व्यक्तिहरू थिए। पद पाएन कि अर्को पार्टी खोलिहाल्ने र आफूलाई अध्यक्ष वा महासचिव वा संयोजक बनाइहाल्ने कम्युनिस्टहरूको अचम्मको नेपाली विशेषता वा सरुवा रोग नै भएको छ। त्यो रोगबाट संक्रमितहरूको झुन्डले चुनावमा कुनै परिणाम दिन नसक्नु अनौठो थिएन। इलाम, सूर्योदय नगरपालिकाको आफ्नै वडामा आफ्ना पाँच सय पनि मतदाता या समर्थक नभएका झलनाथ खनाल आफूले नेतृत्व गर्न सक्नु भनेर अघि सर्न खोज्नु आत्मरतिमात्रै हो।
मन्त्रीमात्रै होइन, प्रधानमन्त्रीसमेत भइसकेका खनाललाई सत्ताको स्वादले यस्तो बनाएको पनि हुन सक्छ। सत्ता र पहुँचका आधारमा आफ्नो उपचार खर्च राज्यबाट भराउने, आफ्नो नाममा प्रतिष्ठान खोलेर राज्यको करोडौं बजेट हाल्ने काम गर्न पाएको हुँदा उनलाई सत्ताको भोक नमेटिएको होला तर यस्तैयस्तै कर्मकै कारण उनको योगदानलाई पनि छोपिएको छ। त्यसो त उनकै पार्टीका अर्का नेता माधव नेपाल जो पार्टीमा १५ वर्ष सक्रिय कार्यकारी नेतृत्वमा रहे, प्रधानमन्त्री पनि भए तिनलाई पनि सक्रिय राजनीतिको भूतले छाडेको छैन। दुई÷दुई ठाउँबाट चुनाव हारेपछि पनि जस्केलाबाट छिरेर प्रधानमन्त्री बनिहाले। त्यसअघि नैतिकताका आधारमा पार्टी महासचिवबाट दिएको राजीनामा फगत देखावटी थियो भन्ने पुष्टि गरिहाले। उनीहरू दुवैसँग सधैं अन्तरसंघर्ष गर्दै आएका एमाले अध्यक्ष केपी ओली स्वयं पनि पार्टी विधान फेरिफेरि तेहेरिएर अध्यक्ष बनेका हुन्। गजव कुरा त के भने एमालेमा यदि ओलीले अध्यक्ष छाड्ने अवस्था आउँदा वा पार्टी फुट्ने अवस्था बनेछ भने पनि लगत्तै नेतृत्व गर्ने अनुहारमा युवा अनुहार अघि सारिएको छैन।
ओली, दाहाल र नेपालहरूलाई २०७४ को निर्वाचनमा पाएको दुईतिहाइ बहुमत पार्टी एक गर्दै अघि बढ्नेभन्दा पनि फेरि पार्टी फुटाउने बहाना भयो किनभने उनीहरू कुर्चीको कुस्तीमा सामेल भइहाले। आज अब उनीहरूका पार्टी विभिन्न कारणले अस्तित्वको संघारमा छन्। जेनतेन एक सिटसम्म भए पनि जितेर संसद्मा पनि बिउ जोगाउन सफल भएका नारायणमान बिजुक्छेले यसपालिको निर्वाचनमा त्यो विरासत पनि जोगाउन सकेनन् र पनि ८० वर्षभन्दा माथिको जीवनमा पुग्दा पनि अध्यक्ष छाडेका छैनन्। ९० वर्ष पुग्न आँटेका मोहनविक्रम सिंह पनि अझै नेकपा मशालको महामन्त्री छन्। अनि उनका झन्डै समवयी चित्रबहादुर केसीसँग पदको भागबन्डा छ, कि मशालको संसदीय मोर्चा भनिने राष्ट्रिय जनमोर्चाको अध्यक्ष छन्। उनीहरूकै पार्टी गएका दशकमा चिराचिरा छ र निर्वाचन जित्ने कुनै क्षेत्र बाँकी छैन।
सानो झुन्डले पार्टी फुटाउने र एकीकृत पार्टी नाम राख्ने वा नेकपा बहुमत राख्नेदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट भन्ने लगायतका थुप्रैथरी कम्युनिस्ट पार्टीका नाङ्ले पसल नेपालमा छन्। तर ती सबैलाई २०८२ फागुन २१ को चुनावले ठूलो सबक दिइसकेको छ, अब राजनीतिमा नाङ्ले पसल चल्दैनन्। जनता रिझाउने सिद्धान्त र व्यवहारसहितको एक ढिक्का पार्टी दिगो हुन्छन्। तर कम्युनिस्ट नेता र पार्टीहरूले चेतेका छैनन्। उनीहरूलाई पार्टी फुटाउन जुनसुकै बहाना पनि काफी हुन्छ तर वैचारिक मतभेदको लेपन सजिलै दिन्छन्। शब्द शब्दमा झगडा गर्न र आफ्नै नेतालाई उत्तिखेरै महान र उत्तिखेरै गद्दार भनिहाल्न सक्ने खुबी पनि यी नेताहरूमा छ। खासमा ती सबै बहानाबाजी आफू र आफूमात्रै सोच्ने मनमुग्धताको रोग हो। जुनसुकै व्यक्ति पनि निर्विकल्प हुन सक्दैन र सधैंका लागि हुन सक्दैन। सन्दर्भ र समयले सबैलाई अवसर पनि दिन्छ र असान्दर्भिक पनि बनाउँछ। सान्दर्भिक बन्न नयाँ विचार र नयाँ कार्यशैली चाहिन्छ। यत्ति हेक्का नराखेकैले आज कम्युनिस्टहरू पद, पद र पदकै आशक्तिका कारण अस्तित्व रक्षाको बिन्दुमा पुगेका हुन्। के वाम एकताका पहलकदमी भित्र यी सबालहरूले प्रमुखता पाउँलान् ? भोलिका दिनमा यसको जवाफ जस्तो आउँछ, त्यसैले यी पार्टीको गति र अस्तित्वसमेत निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस !