चाडपर्व नजिकिँदा अटो बजार तात्यो, सवारी खरिदमा १२ लाखसम्म छुट
काठमाडौं : दसैं नजिकिएसँगै नेपाली अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। दसैं–तिहारलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीले नयाँ सवारीसाधन खरिदमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बिमा, सडक कर छुट, फाइनान्स सुविधा तथा आकर्षक उपहारसहितका योजना सार्वजनिक गर्न थालेका छन्।
पछिल्लो समय सुस्त रहेको अटो बजारलाई चाडपर्वको बिक्रीले गति दिने अपेक्षा व्यवसायीको छ। नेपाली अटोमोबाइल बजारमा दसैंलाई सवारीसाधन खरिद–बिक्रीको मुख्य सिजन मानिन्छ। चाडपर्वमा नयाँ सामान घर भित्र्याउने परम्पराका कारण नयाँ सवारीसाधन खरिद गर्ने ग्राहक बढ्ने ‘ट्रेन’ छ। तर यस वर्ष चीनतर्फको नाका बन्द भएपछि सवारी त्यताबाट आयात हुने विद्युतीय सवारी रोकिएको छ। यस वर्ष पनि विभिन्न ब्रान्डले ग्राहक आकर्षित गर्न लाखौं रुपैयाँसम्मको नगद छुटसहित अन्य सुविधा सार्वजनिक गरेका छन्। केही ब्रान्डले नयाँ गाडीमा १२ लाख रुपैयाँसम्मको छुट तथा सुविधा उपलब्ध गराएका छन्।
अटो व्यवसायीका अनुसार बजारमा पहिलेजस्तो उत्साह भने छैन। महेन्द्रा गाडीका सिनियर म्यानेजर सन्तोषी नेपालले अटो बजार अघिल्ला वर्षको तुलनामा सुस्त रहेको बताइन्। यद्यपि, दसैं–तिहारको अफरले बजारमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ। दसैं–तिहारलाई लक्षित गरी सार्वजनिक भएका यी अफरमा विशेषगरी विद्युतीय चारपांग्रे सवारीमा ठूलो नगद छुट र सुविधाको प्याकेज देखिएको छ भने दुईपांग्रे बजारमा क्यासब्याक, पुरस्कार, एक्सचेन्ज तथा शून्य प्रतिशत ब्याजदरका योजनाले प्रतिस्पर्धा बढाएका छन्।
चारपांग्रेमा आकर्षक अफर
यस वर्ष चारपांग्रे सवारीतर्फ एक्सपेङ जी६ मा सबैभन्दा ठूलो नगद छुट सार्वजनिक गरिएको छ। त्यसपछि होन्डा, जीएसी आयोन, हुन्डाई, एमजी, आइकार, ओमोडा, जेको तथा ग्रेटवाल मोटरका विभिन्न मोडलमा छुट तथा सुविधा घोषणा भएका छन्। नेपालका लागि एक्सपेङको वितरक सीजी मोटर्सले एक्सपेङ जी ६ खरिदमा १२ लाख रुपैयाँसम्मको छुट दिने जनाएको छ। नगद छुटसँगै ग्राहकले ६.६ किलोवाट क्षमताको वालमाउन्ट चार्जर, एक वर्षको बिमा र एक वर्षको सडक दस्तुर निःशुल्क पाउनेछन्। कम्पनीले ग्राहकलाई घरमै एक्सपेङ जी६ को टेस्ट ड्राइभ गर्ने सुविधा पनि उपलब्ध गराएको जनाएको छ।
त्यसैगरी, सीजी मोटर्सले नै बिक्री गर्दै आएको जीएसी आयोनका प्रिमियम विद्युतीय सवारीसाधनमा पनि दसैं अफर ल्याइएको छ। ‘दसैंको बहार, आयोनको उपहार’ योजनाअन्तर्गत ग्राहकले ९ लाख रुपैयाँसम्मको छुट पाउनेछन्। नगद छुटका अतिरिक्त एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स र ६.६ किलोवाटको घरेलु चार्जर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका गाडी खरिदमा ३ लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ। साथै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद जित्ने अवसर दिइएको कम्पनीले जनाएको छ। ग्राहकले एक वर्षको अटो प्लस इन्स्योरेन्स र सडक कर निःशुल्क पाउनेछन्। हुन्डाईका गाडीमा तीन वर्षको वारेन्टी तथा ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ अफर ल्याएको छ। यसअन्तर्गत एमजीका विद्युतीय कारमा ३ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ। ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, सहज फाइनान्स, एक्सचेन्ज सुविधा र एक वर्षको सवारी कर छुट पाउनेछन्।
आइकार भी२३ खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँ नगद छुट पाउने भएका छन्। एसपीजी अटोमोबाइल्सका अनुसार यसअघि ५३ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको भी२३ अब ५१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यससँगै ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी, एक वर्षको वार्षिक कर, एक वर्षको इन्स्योरेन्स र ७ किलोवाटको वालमाउन्ट एसी चार्जर निःशुल्क दिइनेछ।
ओमोडा र जेकोका विभिन्न मोडलमा १ देखि ३ लाख रुपैयाँसम्मको नगद छुट घोषणा गरिएको छ। ओमोडा ई५ का दुवै भेरियन्टमा १ लाख रुपैयाँ छुट दिइएको छ भने जेको जे५ मा ३ लाख र जे६ टीमा २ लाख रुपैयाँ छुट उपलब्ध छ। यी मोडल खरिद गर्ने ग्राहकले एक वर्षको वार्षिक कर, बिमा र ७ किलोवाटको वाल चार्जर निःशुल्क पाउनेछन्।
ग्रेटवाल मोटरका ओरा फाइभ र हाभाल जोलियन म्याक्समा पनि दसैं अफर ल्याइएको छ। भीजी इम्पेक्सका अनुसार ओरा फाइभमा २ लाख र हाभाल जोलियन म्याक्समा ३ लाख रुपैयाँ छुट छ। साथै, कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा विभिन्न एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ।
दुईपांग्रे बजारमा पनि अफरको प्रतिस्पर्धा
चारपांग्रे सवारीसँगै दुईपांग्रे बजारमा पनि दसैं–तिहारलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक भएका छन्। स्कुटर तथा मोटरसाइकल खरिदमा नगद छुट, क्यासब्याक, एक्सचेन्ज बोनस, शून्य प्रतिशत ब्याजदर, निःशुल्क सर्भिसिङदेखि उपहारसम्मका योजना ल्याइएका छन्।
डेल्टा अटोकर्पले भेस्पा र अप्रिलियाका स्कुटरमा ‘दसैंको दक्षिणा’ अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद लाभ पाइनेछ। हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच पाउनेछन्। पुरानो दुईपांग्रे एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट तथा किस्ताबन्दीमा खरिद गर्दा शून्य प्रतिशत सर्भिस चार्जको सुविधा छ।
भीजी अटोमोबाइल्सले ‘उत्सव नयाँ राइड नयाँ’ फेस्टिभ अफर ल्याएको छ। यसअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा अधिकतम एक लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाइनेछ। ग्राहकले शून्य प्रतिशत ब्याजदर वा ३६ महिनासम्मको न्यून मासिक किस्तामध्ये एक सुविधा छनोट गर्न पाउनेछन्।
एमएडब्लू राइड्सले ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ योजना ल्याएको छ। योजनाअन्तर्गत घरबाटै सहभागी भएर एक लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ। सवारी खरिद गरी खरिद प्रमाणित गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। साप्ताहिक रूपमा हाइटेक ग्याजेट तथा बम्पर पुरस्कारमा यामाहा आर१५ मोटरसाइकल जित्ने अवसरसमेत राखिएको छ।
बजाज चेतकका लागि ‘चेतक फेस्टिभ फाइभ’ योजना ल्याइएको छ। दसैंदेखि छठसम्म लागू हुने योजनामा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ, एक लाख रुपैयाँसम्म क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्म ईएमआई भुक्तानी सुविधा तथा निःशुल्क प्रिमियम एसेसरिज उपलब्ध गराइनेछ।
सीजी मोटर्सले हिरो मोटरसाइकल तथा स्कुटरमा ‘यसपालीको दसैं तिहार स्योर सट क्यास उपहार’ योजना ल्याएको छ। ग्राहकले डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मको इन्स्ट्यान्ट नगद पुरस्कार जित्न सक्नेछन्। हरेक हप्ता एक जना ग्राहकले सत प्रतिशत क्यासब्याक पाउने तथा इन्क्वायरी रजिस्टर गर्नेहरूमध्ये हरेक दिन एक जनाले इयरबड जित्ने कम्पनीले जनाएको छ। सहज फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ।
होन्डा नेपालले ‘यो दसैं आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ। नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत एक लाख रुपैयाँसम्म नगद जित्ने अवसर दिइएको छ। ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षको वार्षिक मर्मत सम्झौतामध्ये एक सुविधा छनोट गर्न सक्नेछन्।
जगदम्बा मोटर्सले ‘टीभीएस गोल्डेन की’ योजना सुरु गरेको छ। ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्डेन की वा खरिद मूल्यको सत प्रतिशतसम्म क्यासब्याकमध्ये एक पुरस्कार जित्ने अवसर पाउनेछन्। हरेक खरिदमा स्योर सट उपहार तथा दैनिक लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने अवसर पनि दिइएको छ।
हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘द ग्रेट फेस्टिभल गियर अप’ अफर ल्याएको छ। यसअन्तर्गत ट्रायम्फ मोटरसाइकल खरिद गर्ने ग्राहकले सर्टिफाइड राइडिङ ज्याकेट, हेलमेट र फाइल ब्याग निःशुल्क पाउनेछन्। पुरानो जुनसुकै ब्रान्डको दुईपांग्रे सवारीसँग स्पट एक्सचेन्ज तथा न्यूनतम ५ हजार ९ सय ७६ रुपैयाँ मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने सुविधा पनि दिइएको छ।
ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल ईएफआईमा २० हजार रुपैयाँ नगद छुट दिने भएको छ। पुरानो जुनसुकै ब्रान्डको दुईपांग्रे एक्सचेन्ज गर्न सकिनेछ। नगद भुक्तानीमा सवारी खरिद गर्ने ग्राहकले प्रिमियम ह्यान्डगार्ड र प्रमाणित फुलफेस हेलमेटसमेत निःशुल्क पाउनेछन्।
बजाजले ‘गेम अफ पावर–खेल्ने हो ?’ अभियान सार्वजनिक गरेको छ। यसअन्तर्गत मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्। डिजिटल रेस तथा विभिन्न चुनौतीमा सहभागी हुने, स्मार्ट घडी तथा अन्य उपहार जित्ने र छनोट भएका विजेताले खेलाडीहरूसँग भेट्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !