राहत कोषमा संघको ‘मुठी’
भोटेकोशी बाढीको प्रलयपछि नेपाल सरकारले आह्वान गर्दा प्रधानमन्त्री राहत कोषमा १६ अर्ब रुपैयाँ जम्मा भयो। त्यसबाट विपद् व्यवस्थापन कोषलाई सरकारले १ अर्ब रुपैयाँ उपलब्ध गरायो। रसुवा, धादिङ र नुवाकोटमा पनि केही करोड पठाइयो। अनि सेना र प्रहरीलाई पनि केही दिइयो। तर कोषको ठूलो हिस्सा संघ सरकारकै मुठीमा छ। अस्ति भर्खर असोज ८ देखि ११ गतेसम्म फेरि ठूलो वर्षा हुँदा धेरै क्षतिचाहिँ गण्डकी र लुम्बिनी प्रदेशतिर भएको थियो।
बागलुङमा क्षति बेहोरेको ताराखोला गाउँपालिकाका आफ्नै नागरिकसँग राहत सहयोगका लागि आह्वान गर्नुपर्यो। कारण के भने विपद् आउँदा काम तत्काल गर्नुपर्नेछ, तर पैसा छैन। संघले मुठी बाँधेर राखेको छ प्रधानमन्त्री राहत कोषको पैसा। नामै छ राहत कोष। तर संघ सरकार भने त्यसैबाट पुनस्र्थापनालगायत ठूलो योजना फत्तै गर्ने सुरसार गरिरहेझै प्रतीत भएको छ।
राहत कोषको रकम राहतका लागि हुनुपर्ने हो र जहाँ आवश्यकता छ, त्यहाँ हुनुपर्ने हो। त्यो पुनर्निर्माण वा पुनस्र्थापना कोष होइन। राहत भनेको विपदलगत्तै उपलब्ध गराइने सहयोग हो। तर त्यसको मर्मविपरीत बजेट केन्द्रले थुपार्ने र स्थानीय सरकारहरू पनि फेरि अरुलाई नै गुहार्ने हालत छ। विपद् जेजस्तो आए पनि नागरिकले सबैभन्दा पहिला गुहार्ने स्थानीय सरकारलाई नै हो। भोटेकोशी प्रलयमा पनि राहत र उद्धारमा पहिला उत्रेको स्थानीय पालिका नै थिए र यसपालि बागलुङमा ताराखोला गापा पनि। तर पालिकाहरूसँग उद्धारका लागि न स्वयंसेवक हुन्छन्, न उद्धारक, न उपकरण।
बजेट पनि हुँदैन। आफ्नै आम्दानीको स्रोत कमै पालिकाहरूसँग छ। त्यसैले विपद्का लागि छुट्टै कोष बनाउने सामथ्र्य पनि कमैले राख्छन्। संघले दिएको बजेटबाट काम चलाउँदै आउनुपर्छ प्रशासनिक र विकास खर्च पनि। कोभिड—१९ को विपद् आउँदा पनि सबैभन्दा अग्रमोर्चामा खटिएका स्थानीय सरकार थिए। तिनले नागरिकलाई क्वारेन्टाइनको आ श्रयमात्रै दिएका थिएनन्, संक्रमण फैलन नदिन ठूलो योगदान गरेका थिए। नागरिकको जिउज्यान जोगाउने गरी स्थानीय जनप्रतिनिधि आफैंआफैं पनि डटेका थिए। बाढी, पहिरो वा अरु विपद्मा पनि जनप्रतिनिधि स्वयंसमेत खटिन्छन् सधैं, जहाँ पनि। तर तिनले बजेट परिचालन गर्न र उद्धारका उपकरण परिचालन गर्न पाएका छैनन्।
भोटेकोशी बाढीका आएर राष्ट्रिय राजमार्ग पृथ्वीराजमार्ग अवरुद्ध हुँदा डोजर चलाएर पहिरो पन्छाउन वडाध्यक्षदेखिका जनप्रतिनिधि आफैं खटिए, रसुवा, धादिङ, नुवाकोटमा स्थानीयलाई तुरुन्तै आ श्रयको चाँजापाँजो स्थानीय जनप्रतिनिधिकै सक्रियताले सम्भव भयो। अनि संघ सरकार हेलिकोप्टरमा अर्थात् आकाशमा देखियो र स्थानीय सरकार जमिनमा। राहत, उद्धारमा खटिने स्थानीय र बजेट थुप्रिने संघमा हुँदा मारमा पर्ने आखिर विपद् प्रभावित नागरिक नै हुन्। संघीयताको मर्मअनुसार पनि बजेटको केन्द्रीयकरण आफैंमा औचित्यपूर्ण छैन। आवश्यकताका आधारमा पनि जायज छैन।
अमेरिकामा स्थानीय काउन्टी र सहरहरूलाई नै अग्रपंक्तिमा राखेर बजेट र स्रोत सोझै हस्तान्तरण गरिन्छ। जापानमा भूकम्प र सुनामी आउँदा ‘शिचोसन’ (नगरपालिका) हरू नै राहत र पुनर्निर्माणका मुख्य जिम्मेवारी सम्हाल्छन्। भारतमा पनि राष्ट्रिय विपद् प्रतिक्रिया कोषको ठूलो हिस्सा सोझै राज्य र स्थानीय निकायसम्म पुग्छ। तर नेपालमा भने सिंहदरबारले दुई/चार लाखका खुद्रे योजना पठाएर पालिकाहरूको स्वाभिमानमाथि खेलबाड गरिरहेको छ। हाम्रोमा संघले अधिकारको पनि मुठी पारेको छ, अरू बजेटको पनि पारेकै छ।
हुँदाहुँदा नागरिकको जिउज्यानै जोगाउनुपर्ने विपद् उद्धार र राहतमा मुठी पार्नु भनेको अत्यन्तै अनुत्तरादायी हुनु हो। यो पालिकाहरूको माथिको विभेद र अर्घेल्याइँ होइन, नागरिकमाथिकै लापरबाही हो। केन्द्रीकरणको मानसिकताले सिंहदरबारलाई सधैं अधिकार र स्रोतको भोको बनाएको छ। स्थानीय तहलाई २२ वटा एकल अधिकार सुम्पिए पनि वित्तीय स्रोतको साँचो नदिँदा पालिकाहरू निसहाय बनेका छन्। बिहान–बेलुका नागरिकसँग भेटिने सरकारलाई सुको नदिने अनि सामाजिक सञ्जालका रिलमा मात्रै देखिने सरकारले उद्धारको गफ हाँक्दा झन् स्थानीय सरकार र नागरिकलाई उपहास गरे झैं भएको छ।
प्रतिक्रिया दिनुहोस !