काठमाडौं : नेपाली कांग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट सुरु हुन्छ। तर, कांग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशादेवीका देवीप्रसाद सापकोटा। वि.सं. २००३ कात्तिक १५ गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसका पहिलो अध्यक्ष देवीप्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए।
कांग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कांग्रेसको संस्थापनको इतिहास केवल ‘बीपीले कांग्रेस स्थापना गरे’ भन्ने एकरेखीय कथामा सीमित छैन। प्रारम्भिक संगठन निर्माणमा सापकोटाले औपचारिक नेतृत्व र बीपीले संगठनात्मक संयोजनको भूमिका निर्वाह गरेका थिए।
बनारसबाट सुरु भएको राजनीतिक यात्रा
राणा शासनविरुद्ध राजनीतिक संगठन निर्माण गर्ने उद्देश्यले बनारसमा नेपाली राजनीतिकर्मी भेला भएका थिए। भेलाले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन गरेको थियो। त्यसको नेतृत्व सापकोटालाई दिइएको थियो। बीपी कोइराला संयोजक बने। बालचन्द्र शर्मा उपाध्यक्ष, कृष्णप्रसाद भट्टराई महामन्त्री र गोपालप्रसाद भट्टराई प्रचारमन्त्री बनेका थिए।
को थिए सापकोटा ?
देवीप्रसाद सापकोटा राणा शासनकालमै सार्वजनिक सेवामा प्रवेश गरेका वरिष्ठ व्यक्ति थिए। उपलब्ध ऐतिहासिक विवरणअनुसार उनी चन्द्रशमशेरको शासनकालमा मुन्सीखानामा सुब्बाका रूपमा कार्यरत थिए। पछि भारत पुगेका सापकोटा नेपाली राजनीतिक गतिविधिमा जोडिए। उनी राजनीतिक संगठन निर्माणसँगै प्रेस र राजनीतिक चेतना विस्तारको काममा पनि सक्रिय थिए। उनको परिवारका उनका नाति सुनील सापकोटाका अनुसार भारतबाट प्रकाशित ‘गोरखाली’ पत्रिका उनकै नेतृत्वमा निकालिन्थ्यो। उनले उक्त पत्रिकामार्फत नै नेपालको राणा सरकारका विरुद्धमा समाचार निकाल्ने गर्थे। तत्कालीन राजनीतिक गतिविधिका कारण उक्त पत्रिकामाथि प्रतिबन्ध र प्रेस जफतसम्म भएको उल्लेख पाइन्छ। सापकोटाको भूमिका राजनीतिक संगठनको औपचारिक अध्यक्षमा सीमित थिएन। उनी राणाविरोधी राजनीतिक चेतना निर्माणको प्रारम्भिक पुस्ताका सक्रिय पात्र थिए।
अध्यक्ष सापकोटा, संयोजक बीपी
कांग्रेसको प्रारम्भिक इतिहासको सबैभन्दा रोचक पक्ष यही हो। सापकोटा अध्यक्ष थिए, बीपी संयोजक थिए। बीपी उमेर र राजनीतिक सक्रियताका हिसाबले नयाँ पुस्ताका नेता थिए। सापकोटा भने उनीभन्दा वरिष्ठ पुस्ताका राजनीतिक व्यक्ति थिए। त्यसैले प्रारम्भिक संगठनमा वरिष्ठता र नयाँ राजनीतिक ऊर्जाबीचको संयोजन देखिन्छ। बीपीले संगठन विस्तार र राजनीतिक आन्दोलनलाई गति दिए। सापकोटाले प्रारम्भिक संस्थागत नेतृत्वको जिम्मेवारी लिए। तर, यो संरचना लामो समय टिकेन।
केही महिनामै बदलियो नेतृत्वको संरचना
वि.सं. २००३ माघ १२ देखि १३ गते कलकत्ताको भवानीपुरमा भएको पहिलो अधिवेशनले संगठनको नाम परिवर्तन गरी ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो। त्यसपछि टंकप्रसाद आचार्यलाई मानार्थ सभापति र बीपी कोइरालालाई कार्यवाहक सभापति बनाइयो। यससँगै नेपाली राष्ट्रिय कांग्रेसको राजनीतिक नेतृत्व क्रमशः बीपी केन्द्रित हुँदै गयो। पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसबीचको एकीकरणबाट नेपाली कांग्रेस निर्माण भयो। त्यसपछि नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्य राजनीतिक शक्तिका रूपमा कांग्रेस स्थापित हुँदै गयो।
किन बिर्सिए सापकोटा ?
कांग्रेसको पछिल्लो इतिहास अत्यन्तै संघर्षपूर्ण रह्यो। २००७ सालको क्रान्ति, राणा शासनको अन्त्य, बीपीको नेतृत्व, २०१५ सालको निर्वाचन, पञ्चायतविरुद्धको संघर्ष, जनआन्दोलन र त्यसपछिको लोकतान्त्रिक राजनीति– यी सबै घटनामा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको भूमिका प्रमुख रूपमा स्थापित भयो। सापकोटाको सक्रिय राजनीतिक जीवन भने कांग्रेसको प्रारम्भिक संगठन निर्माणको चरणमै बढी केन्द्रित रह्यो। कांग्रेसको स्मृतिमा उनको नाम क्रमशः हराउँदै गयो। तर, इतिहासको अभिलेखमा भने उनको भूमिका मेटिएको छैन।
कांग्रेसको संस्थापक को ?
देवीप्रसाद सापकोटाको प्रसंगले कांग्रेसको संस्थापकबारे हुने बहसलाई पनि नयाँ कोणबाट हेर्न बाध्य बनाउँछ। बीपी कांग्रेसका मूल संस्थापक नेता हुन् भन्नेमा विवाद छैन। तर, कांग्रेसको प्रारम्भिक संगठनात्मक संरचना निर्माणमा सापकोटाको औपचारिक नेतृत्व रहेको तथ्य पनि कांग्रेसकै आधिकारिक इतिहासमा सुरक्षित छ।
कांग्रेसको इतिहासलाई अझ सटिक ढंगले व्याख्या गर्दा देवीप्रसाद सापकोटा प्रारम्भिक संगठनका अध्यक्ष थिए, बीपी कोइराला संयोजक थिए। त्यसपछिको राजनीतिक विस्तार तथा रूपान्तरणमा बीपीसहित अनेकौं नेताको निर्णायक योगदान रह्यो।
महाधिवेशनको बेला फेरि किन सम्झना ?
कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व परिवर्तन, पुस्तान्तरण र पार्टीको ऐतिहासिक विरासतबारे बहस भइरहेका बेला सापकोटाको नाम पुनः स्मरणीय बनेको छ। कांग्रेसको नेतृत्वका लागि अहिले नयाँ पुस्ताका नेताहरूबीच प्रतिस्पर्धा भइरहँदा पार्टीको प्रारम्भिक इतिहासतर्फ फर्किँदा एउटा महत्वपूर्ण तथ्य भेटिन्छ– कांग्रेसको राजनीतिकयात्रा धेरै व्यक्तिको योगदानबाट बनेको थियो।
सापकोटा ती पात्र हुन्, जसको योगदान पार्टीको इतिहासको सुरुवाती पानामै दर्ज छ, तर सार्वजनिक राजनीतिक स्मृतिमा भने उनी अपेक्षाकृत कम चर्चित छन्। र, तिनै सापकोटाका विषयमा अहिलेका सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बेलाबखत सम्झेर पार्टीमा स्थान दिन चाहेका थिए। त्यसैले पनि सापकोटा परिवारले बदलिएको कांग्रेसबाट देवी सापकोटालाई सम्मानजनक स्थान दिने आशा राखेका छन्। बनारसमा कांग्रेसको प्रारम्भिक संगठनको अध्यक्ष बनेका देवीप्रसाद सापकोटाको कथा त्यसैले केवल एक व्यक्तिको जीवनी होइन, कांग्रेसको संस्थापनको अपुरो रूपमा भनिएको इतिहासको एउटा महत्वपूर्ण अध्याय हो।
सुब्बा देवीप्रसाद सापकोटाबारे पनाति विजय सापकोटाको बयान
स्वतन्त्रता सेनानी सुब्बा देवीप्रसाद सापकोटाको पुख्र्यौली घर काभ्रेपलाञ्चोकको बिएवर (हाल कुशादेवी, पनौती क्षेत्र) हो। उहाँका बुबा नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। राणा शासनकालमा चन्द्रशमशेरको समयमा देवीप्रसाद सापकोटा परराष्ट्र मन्त्रालयसरह मानिने ‘मुन्सीखाना’ मा सुब्बा (हालको सचिवसरह) पदमा कार्यरत हुनुहुन्थ्यो। उहाँभन्दा माथि मुख्य सचिवका रूपमा सरदार हंसमान सिंह हुनुहुन्थ्यो। उहाँका दुई छोराहरू डा. लक्ष्मेश्वरप्रसाद सापकोटा र देवीप्रसाद सापकोटा (छोरा) हुनुहुन्थ्यो।
सुब्बा देवीप्रसाद सापकोटाको जीवनमा ठूलो मोड तब आयो, जब उहाँले राणा शासक चन्द्रशमशेरको अगाडि आफ्नो दृढ राष्ट्रवादी अडान प्रस्तुत गर्नुभयो। अंग्रेजहरूले तिब्बत (भोट) सँग व्यापार गर्ने क्रममा विवाद उत्पन्न भएपछि चन्द्रशमशेरसँग सैन्य तथा खाद्यान्न सहयोग मागेका थिए। चन्द्रशमशेरले अंग्रेजको पक्षमा सहमति जनाउँदै पत्र लेख्न आदेश दिँदा सुब्बा सापकोटाले त्यसलाई अस्वीकार गरिदिनुभयो। उहाँले ‘जंगबहादुरको पालाको सन्धिअनुसार तिब्बत वा हामीमध्ये कसैमाथि हमला भएमा एकअर्कालाई साथ दिने सम्झौता छ, त्यसैले यो कदम सन्धिविपरीत हुन्छ’, भन्दै अडान लिनुभयो।
यही राष्ट्रवादी अडानका कारण राणा शासक चन्द्रशमशेर उहाँप्रति क्रुद्ध बने। परिणाम स्वरूप, उहाँको सर्वस्व हरण गरियो, काठमाडौंको क्षेत्रपाटीमा रहेको घरजग्गा लिलाम गरियो र उहाँलाई सपरिवार देश निकाला गरियो। देश निकालापछि उहाँको परिवार दुई पुस्तासम्म भारतको बनारसमा निर्वासनमा रहन बाध्य भयो र पछि विसं २०१४ तिर मात्र उहाँको परिवार नेपाल फर्केर विराटनगरमा बसोबास गर्न थाल्यो। भारत निर्वासनमा रहँदा पनि उहाँ निष्क्रिय रहनुभएन।
विसं २००४ (सन् १९४७) कात्तिक १५ गते बनारसस्थित उहाँकै निवास ब्रह्मघाटमा बीपी कोइरालाको संयोजकत्वमा भेला भई ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना गरियो। बीपी कोइरालाले नै देवीप्रसाद सापकोटालाई उक्त पार्टीको अध्यक्ष बनाउनु भएको थियो। उहाँका दुवै छोराहरू (डा. लक्ष्मेश्वरप्रसाद सापकोटा लगायत) सो पार्टीको प्रारम्भिक कमिटीमा सक्रिय सदस्य थिए। पछि डा. डिल्लीरमण रेग्मीसँगको आन्तरिक विवादपछि पार्टी विभाजन भयो र बीपी कोइरालाको समूहले कलकत्तामा सुवर्णशमशेरको समूहसँग मिलेर ‘नेपाली कांग्रेस’ को स्थापना ग¥यो। अतः आजको नेपाली कांग्रेसको मुख्य बीउ र आधार स्तम्भ उही अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै थियो, जसका संस्थापक अध्यक्ष सुब्बा देवीप्रसाद सापकोटा हुनुहुन्थ्यो।
प्रवासमा रहेर राणाशासनविरुद्ध जनचेतना फैलाउन र आन्दोलनको वातावरण बनाउन नेपाली भाषामा ‘गोरखाली’ पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति सुब्बा देवीप्रसाद सापकोटा नै हुनुहुन्थ्यो। उहाँको पत्रकारिताले राणा शासनको जग हिलाइदिएपछि राणा सरकारले भारतस्थित अंग्रेज सरकारलाई पत्राचार गरी सो पत्रिका जफत गराएको थियो र उहाँलाई बनारसमै नजरबन्दमा राख्न लगाएको थियो।
उहाँको यो ऐतिहासिक योगदानको सम्झनामा काभ्रेको २५ किलो भन्ने ठाउँमा उहाँको अर्धकदको प्रतिमा स्थापना गरी पहिलो पत्रकारका रूपमा सम्मान गरिएको छ। साथै, ‘शब्दयात्रा प्रकाशन’ ले हरेक वर्ष फागुन महिनामा उहाँको नाममा ‘सुब्बा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रदान गर्दै आएको छ। यो सम्मानबाट कमलमणि दीक्षित र प्रकाश उपाध्यायजस्ता वरिष्ठ पत्रकारहरू सम्मानित भइसक्नु भएको छ।
उहाँको योगदानलाई लिएर बनेपाको ‘शब्दयात्रा प्रकाशन’ बाट दुईवटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। यसका अलावा डा. डिल्लीरमण रेग्मीद्वारा लिखित र अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट प्रकाशित पुस्तक ‘मोडर्न हिस्ट्री अफ नेपाल’ मा उहाँको बारेमा ४–५ अध्याय चर्चा गरिएको छ। बीपी कोइरालाका ‘आत्मकथा’ र ‘आत्मवृत्तान्त’ मा पनि उहाँको योगदानको स्मरण गरिएको छ। नेपाल विद्यार्थी संघले उहाँलाई करिब एक दशकअगाडि नै ‘आद्य पुरुष’ का रूपमा मान्यता दिँदै प्रस्ताव पारित गरिसकेको छ।
हालका नयाँ पुस्ताका नेताहरू विश्वप्रकाश शर्मा, रमेश लेखकलगायत योगदानप्रति सकारात्मक रहँदै पनौतीको सडकको नाम ‘देवीप्रसाद सापकोटा मार्ग’ राख्ने र पार्टी कार्यालयमा उहाँको तस्बिर राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। देश र प्रजातन्त्रका लागि सर्वस्व त्याग्ने सुब्बा देवीप्रसाद सापकोटाको ऐतिहासिक योगदानलाई उचित सम्मान दिनुपर्छ जस्तो लाग्छ।
प्रतिक्रिया दिनुहोस !