१० सेकेन्डको रिल्सले ३४ वर्षपछि मिलन

१० सेकेन्डको रिल्सले ३४ वर्षपछि मिलन
सुन्नुहोस्

स्याङ्जा :  जिन्दगीमा अनगिन्ती दिनहरू परदेशी मुलुकमै बिते। मनभित्र गुम्सिएको पारिवारिक माया, छटपटी र सञ्चो बिसञ्चो न त उनलाई खबर हुन्थ्यो। न त यता परिवारलाई नै।

आमा, बुवा, भाइ, पत्नी, दुई वर्षे छोरी र एक वर्षे काखे छोरा छोडेर २७ वर्षे उमेरमै पैसा कमाउनका लागि भारत पुगेका महेन्द्र केसी अन्ततः ३४ वर्षपछि बल्ल घर फर्किए।

छोरा कृष्ण केसी र उनका साथी सूर्यमान केसीले ६१ वर्षीय महेन्द्रलाई दिल्लीबाट स्याङ्जाको घर ल्याएका हुन्। जब घरमा पाइला टेके त्यहाँ न त उनलाई स्वागत गर्ने आमाको काख थियो, न त बुवाको आशीर्वाद नै।

छोराको प्रतीक्षा गर्दा गर्दै आमाको १७ वर्षअघि र बुवाको ७ वर्षअघि मृत्यु भैसकेको छ। जीवनको उत्तरार्धमा ३४ वर्षको लामो पर्खाइपछि घर फर्किएका उनी अहिले आफ्ना आमा र बुवा दुवैको एकसाथ किरिया गरिरहेका छन्। यही बीचमा उनका भाइ नरेन्द्र केसीको पनि मृत्यु भइसकेको छ।

परदेशी भूमिमा पुगेर पैसा कमाउने र परिवारलाई खुसी बनाउने अनगिन्ती सपना बोकेर कलिलो उमेरमा भारत पुगेका केसीले सुरुमा चौकीदारी काम गरेको बताए। सुरुका वर्ष पारिवारिक खबर आदानप्रदान भयो। चौकीदारी छाडेर उनी मन्दिर, पाटी, पौवामा बसेर पूजाआजा तथा घुमफिर गर्न थाले। त्यसपछि उनको अवस्था बेखबर बन्यो।

कृष्णका अनुसार, ‘धादिङका आकाश गुरुङले दिल्लीमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेका छन्। प्रायःजसो सोही रेस्टुरेन्टमा जाने ती पाको उमेरका व्यक्तिसँग आकाशको बोलचाल भयो। कुराकानीका क्रममा उनको लवज र हाउभाउ नेपाली जस्तै लागेपछि आकाशले नाम, घर र परिवार सोधेका थिए। उनले आफ्नो नाम महेन्द्र केसी, घर स्याङ्जा बजार, एक छोरा र एक छोरी छन् भनेर बताएको एउटा सानो रिल्स सामाजिक सञ्जालमा पोष्ट गरे। सोही पोष्टले आज ३४ वर्षपछि पारिवारिक मिलन गराएको छ।’

कृष्णले सोही सामाजिक सञ्जालमार्फत आकाशसँग सम्बन्ध बढाए। दिल्लीसम्म पुगेर बुवाको खोजीकार्य गरी घर फर्काउने निधो गरेर आफ्ना साथी सूर्यमान श्रेष्ठसहित भारततर्फ हानिए।

कृष्णले थपे ‘बुवा फर्किने आशा मारेका हामीले पुनः बुबालाई पाएका छौं। सानो ८/१० सेकेन्डको रिल्सले हाम्रो जीवनमा ठूलो परिवर्तन गराएको छ। हाम्रो जस्तै धेरैका अभिभावक हराउनु भएको होला, कहीँ कतै अल्मलिनु भएको होला, केही बाध्यतामा परेर बस्नु भएको होला। सामाजिक सञ्जालमार्फत जोडिएको हाम्रो परिवार अन्यको पनि यस्तै उदाहरणीय बन्न सकोस्। उनले आकाशलाई बारम्बार सम्झीरहे। मनैदेखि धन्यवाद दिइरहे।’

सो रिल्स हेरेर मैले बुवा पत्ता लगाउने सक्ने थिईन्। मेरा दाजुभाइ, आफ्ना आफन्तलाई सोधें अनि हाम्रो बुवा हो भन्ने पत्ता लागेपछि साथीसहित पुगेर, खोजतलास गर्‍यौं अनि साता दिनमा घरमै लिएर आउन सफल भएको कृष्णको भनाइ छ।

लामो समयसम्म परिवारको सम्पर्कमा नरही पूर्णबेखबर उनी अचानक घर आइपुग्दा परिवारमा खुसीको सीमा छैंन। आमा, बुवा र भाइलाई भने गुमाएका उनका पत्नी मिठु केसी, छोरी अम्बी केसी, छोरा कृष्ण केसी, बुहारी बिन्दु केसी र नातिनी किन्जल केसी छन्। एउटा सिंगो परिवार पुनः जोडिएको छ। स्याङ्जाको सतौंचण्डीस्थानबाट स्याङ्जा बजारमा झरेका केसी परिवारको पुख्र्यौली पेसा खसी, बोकासहित तरकारी र फलफूल व्यवसाय हो। अहिले पनि तरकारी तथा फलफूल व्यवसायसँगै कृष्ण यातायात व्यवसायी पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.