खनालले गरे पार्टी बैठक ‘बंक’
काठमाडौं : नयाँ अभियान थालेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा गएनन्। नेकपाको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको शुक्रबार बसेको छैटौं बैठक बसेको छ।
‘राष्ट्रिय जागरण अभियान’ थालेका खनाल बैठकमा नगएपछि पार्टी छोड्नेका त होइन भन्ने चर्चा चलेको छ। बिहीबारमात्रै खनालले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटका थिए। भेटमा खनाल खनालले पार्टी छाड्दिनँ भनेर आफू भनेको प्रचण्डले बताएका छन्। तर खनालले भने एक कार्यक्रममा एमाले छोड््नु जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए। २०७८ भदौमा एमालेलाई फुटाएर माधवकुमार नेपालसँगै नेकपा (एकीकृत समाजवादी) मा लागेका थिए।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि खनाल पनि घिसारिएर त्यहीबाट समावेश भएका थिए। त्यो बेला खनाल माओवादी केन्द्रसँग नभएर एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा थिए। एकीकृत समाजवादी हुँदा होस् वा नेकपा हुँदा पार्टीभित्र भने फरक मत राख्दै आएका थिए। एमाले छोड्नु जीवनकै गल्ती भनेका लगायत यावत् कारणले कतिपयले उनले नेकपा छोडेको अनुमान गरेका छन्। तर नेकपा संयोजक प्रचण्डले नेता खनालले पार्टी नछोडेको बताएका छन्। खनाल पद नदिएकोबारे सोधिएको प्रश्नमा प्रचण्डले भनेका छन्, ‘उहाँ उसै पनि वरिष्ठ नेता हुँदै हुनुहुन्छ नि, !’
यता नेकपाको बैठकले कात्तिक र मंसिरमा ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। अभियानको उद्घाटन कात्तिक ७ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बृहत् पत्रकार सम्मेलन गरेर गरिनेछ। पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।
अभियानमार्फत पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण तथा विस्तार र जनसम्बन्ध विस्तारका कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै समिति अभियानमा परिचालित हुनेछन्।
पार्टी समिति तथा जनवर्गीय र मोर्चा संगठनहरूको समायोजनका बाँकी काम पूरा गर्ने, बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र जनताका दैनिक जनजीविकासँग सम्बन्धित समस्या तथा माग संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने कार्यक्रम तय गरिएको छ। संकलित माग सम्बोधन गराउन पहल गर्ने, सांस्कृतिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने र श्रम तथा जनसेवाका गतिविधि अघि बढाउने पनि पार्टीले जनाएको छ। विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका काममा सहयोग गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ। बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधि र कार्ययोजना पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।
पुस ११ मा वडा अधिवेशन
नेपाली कम्युनिस्ट पार्टीले संगठनात्मक संरचनालाई पूर्णता दिन वडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। आगामी पुस ११ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ।
माघ १५ गते देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एकै दिन पालिका अधिवेशन आयोजना गरिनेछ। पार्टी केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय सचिवालयका बैठक भने राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि मंसिरको अन्तिम साता आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !