भुइँफुट्टाहरूको देश
अक्सर गरिब हाँस्दैनन्
बेच्दैनन् स्वाभिमान
नाच्दैनन् कठपुतली जस्तो
मौनविद्रोह गर्छनहराएको सपना खोज्दै।
माटो र पसिनासँग खेल्दै
उमार्छन् रगतले सिञ्चित बिरुवा
फुलाउँछन् सिर्जनका फूलहरू
फलाउँछन् कर्मका फलहरू
र बग्छन् मेहनतका नदीहरू
मृत्युलाई किनारा लगाउँदै।
बालबालिका जाँदैनन् पाठशाला
अज्ञात भविष्य बोकेर
जान्छन् गोठाला
खेल्छन् डण्डीबियो
जितमा रमाउँदै
हारमा मौनता साँध्छन्।
वृद्ध बाआमा
मृत्युसँग लडिरहेछन्
जीवनका अनेकौं हन्डर पचाएर
दुःखलाई सिरान लगाई
भोकसँग जुझ्दै
सन्तानको उज्ज्वल
भविष्यको अभ्यर्थना गर्छन्।
अक्सर इमानका पहाड उक्लँदै
बेइमानहरूको प्रताडना खपेर
अनेकन अभिलाषा पोको पार्दै
भुइँफुट्टाहरूको देशमा
आफ्नो देश खोजी रहेछनविचरा गरिबहरू।
प्रतिक्रिया दिनुहोस !