नदीको प्रभाव क्षेत्रभन्दा माथि र सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत बस्तीहरूको विकास गरिनुपर्छ।
हालै हिमाली तथा सीमावर्ती करिडोरमा आएको विनाशकारी रसुवा–भोटेकोशी जलप्रलय र त्यसबाट सिर्जित अभूतपूर्व भौतिक एवम् मानवीय क्षतिले देशको समग्र विपद् व्यवस्थापन, पूर्वाधार निर्माण शैली, नीतिगत स्पष्टता र पुनस्र्थापनाको परम्परागत ढाँचामाथि गम्भीर प्रश्न खडा गरेको छ। भोटेकोशी करिडोरमा बेहोर्नु परेको क्षति आधुनिक इतिहासमै अकल्पनीय हो। राहत र खोजी कार्यमा राज्य संयन्त्रको भूमिका पहिलेका विपद्को भन्दा व्यवस्थापकीय हिसाबले राम्रो देखिए पनि गम्भीर कमजोरी उजागर भए। त्यो हो जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेका कामदार तथा कर्मचारीहरूको समयमै उद्धार गर्न नसक्नु।
नदी करिडोरमा सञ्चालित र निर्माणाधीन आयोजनामा जोखिमको जानकारी, पूर्वतयारी, खोज तथा उद्धारको लागि उपकरण र तालिम प्राप्त व्यक्तिका साथै पूर्व सूचना प्रणालीको कति ठूलो खाडल छ भन्ने यस घटनाले देखाएको छ। अब डेढ महिनाभन्दा बढी समय व्यतीत भइसकेकाले राहत र उद्धारको चरणलाई औपचारिक रूपमा टुंग्याउँदै राज्य अस्थायी बसोबास, दिगो पुनर्निर्माण र पुनस्र्थापनाको रणनीतिक यात्रामा प्रवेश गर्नु अनिवार्य भइसकेको छ।
२०७२ को महाभूकम्पपछि विश्वस्तरमै प्रशंसा पाएको विशाल पुनर्निर्माण सम्पन्न गरेको अनुभव नेपालसँग छ। त्यतिबेला करिब ८ लाख निजी आवास, हजारौं विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन र सडक सञ्जालहरूको सफलतापूर्वक पुनर्निर्माण गरिएको थियो। तर, त्यतिबेलाको पुनर्निर्माण र अहिलेको बाढी–पहिरोपछिको पुनर्निर्माणमा मौलिक र तात्विक भिन्नता छ।
भूकम्पका बेला नयाँ संविधान बनिसकेको थिएन, तीन तहको संघीय शासन प्रणालीमा परिपक्व भइसकेका थिएनौं। बहुप्रकोपीय जोखिमका बीच कसरी पुनर्निर्माण गर्ने भन्ने वैज्ञानिक ज्ञान र पूर्वाधार प्रविधिको पर्याप्त विकास पनि भइसकेको थिएन। जहाँ संरचना भत्कियो, ठ्याक्कै त्यहीँ र त्यसरी नै ‘पुनर्निर्माण गर्ने’ पुरानो ढर्रा पूर्ण रूपमा असफल भइसकेको छ। अबको पुनर्निर्माणको यात्रा हिजोको भन्दा बिलकुलै फरक, वैज्ञानिक र दूरदर्शी हुनुपर्छ। बाढी र लेदोले पोतेको जोखिमयुक्त क्षेत्रमा हतारिएर पुनर्संरचनाहरू ठड्याउनु अर्को भावी विनाशलाई निम्तो दिनु सरह हो। भोटेकोशी बाढीपछिको पुनर्निर्माणलाई दिगो, सुरक्षित र परिणाममुखी बनाउन अपनाउनुपर्ने पाँच प्रमुख स्तम्भ यस्ता छन्।
नेपालमा २१ सयभन्दा बढी हिमताल छन् र तिनको सम्भावित विस्फोटन वा जोखिमबारे विभिन्न समयमा अध्ययन भएका छन्। तर, विडम्बनाको के छ भने ती अध्ययनहरू विदेशी संघसंस्था वा गैरसरकारी निकायको अग्रसरतामा मात्र गरिएका हुन्। राज्यले संस्थागत जवाफदेहिता नलिई अरूले गरिदिएको काममा केवल किनाराको साक्षीमात्र बस्ने परिपाटीले विपद्को यति ठूलो जोखिममा परेका हौं।
२५ वर्षीय इकोनोमिक करिडोरको अवधारणामा पुनर्निर्माण : दीर्घकालीन योजनाका दृष्टिले हेर्दा, अबको २५ वर्ष अर्थात् सन् २०५० सम्ममा नेपाल विश्वकै दुई ठूला आर्थिक महाशक्ति (चीन र भारत)को बीचमा अवस्थित हुनेछ। भोटेकोशी नदी बग्ने यो सम्पूर्ण हिमाली करिडोरलाई दुईवटा उदयमान विश्व अर्थतन्त्रलाई आपसमा जोड्ने एउटा मजबुत आर्थिक सेतु’ इकोनोमिक कोरिडोरका रूपमा विकास गर्नुपर्छ। सोही अनुरूप करिडोर प्लानिङ गरिनुपर्छ।
आर्थिक करिडोर निर्माणको पहिलो र मुख्य सिद्धान्त भनेकै बहुप्रकोपीय जोखिमको वस्तुनिष्ठ आकलन गर्नु हो। वैज्ञानिक जोखिम नक्सांकन गर्दा जोखिमयुक्त ठहरिएका क्षेत्रभित्र निजी आवास, व्यापारिक प्रतिष्ठान, सार्वजनिक संरचना वा कुनै पनि प्रकारका सडक, रेलमार्ग र अन्य कनेक्टिभिटी जस्तै सञ्चार, विद्युत् र ट्रान्समिसन लाइनका पूर्वाधारहरू बनाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ। राज्यको लगानी वा निजी क्षेत्रको पुँजी पुनः खर्चिनु हुँदैन। मानिसहरूको बसोबास र व्यापारिक केन्द्रहरूलाई नदीको प्रभाव क्षेत्रभन्दा माथि र सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत बस्तीहरूको विकास गरिनुपर्छ। यसरी जोखिम क्षेत्र छाडेर सुरक्षित भूभागमा मात्रै कनेक्टिभिटी र पूर्वाधार विकास गर्दा मात्र यो करिडोरले दुई ठूला छिमेकी मुलुकहरूबीचको व्यापार, पर्यटन र लगानीलाई दीर्घकालसम्म सुरक्षित रूपमा थाम्न सक्नेछ।
इन्टर बेसिन हिमालयन रिस्क इन्टेलिजेन्स र पूर्वसूचना प्रणाली : नेपालमा २१ सयभन्दा बढी हिमताल छन् र तिनको सम्भावित विस्फोटन वा जोखिमबारे विभिन्न समयमा अध्ययन भएका छन्। तर, विडम्बनाको के छ भने ती अध्ययनहरू विदेशी संघसंस्था वा गैरसरकारी निकायको अग्रसरतामा मात्र गरिएका हुन्। राज्यले संस्थागत जवाफदेहिता नलिई अरूले गरिदिएको काममा केवल किनाराको साक्षीमात्र बस्ने परिपाटीले विपद्को यति ठूलो जोखिममा परेका हौं।
नेपाल र चीन सरकारको संयुक्त पहलमा दुवै देशका तालुकदार सरकारी निकाय, भू–गर्भविद्, जलवैज्ञानिक र विपद् व्यवस्थापन विशेषज्ञहरूको संयुक्त कार्यदल गठन गरी ‘इन्टर बेसिन हिमालयन रिस्क इन्टेलिजेन्स सिस्टम’ निर्माण गर्नुपर्छ्। हिमाली क्षेत्रमा सीमित जनशक्ति र स्रोतले मात्र निरन्तर अनुगमन गर्न असम्भव हुने भएकाले चौबिसैघण्टा काम गर्ने आधुनिक स्याटेलाइट इमेजरी प्रविधि अपनाइनुपर्छ। दिउँसो, राति वा बाक्लो बादल लागेको अवस्थामा पनि जमिन अलिकति खस्किनेबित्तिकै वा हिमतालमा हलचल आउनेबित्तिकै त्यसको सूचना पाउन सक्ने मनिटरिङ सिस्टम हुनुपर्छ।
यो प्रणालीलाई भूकम्प मापन संयन्त्र र आधुनिक जलमापन प्रविधिसँग जोड्नुपर्छ। हालैको बाढीले हाम्रा ६ वटा परम्परागत फ्लड गेजहरू बगाएर लगिसकेको अवस्थामा अब नदीभन्दा निकै अग्लो स्थानमा अत्याधुनिक मापन यन्त्रहरू राख्नुपर्छ। नदीमा बाढी आउँदा, रक वा आइस एभलान्च (हिमपहिरो) खस्दा वा हिमताल फुट्दा निस्कने ठूलो कम्पन र गडगडाहाटबाटै पानी र लेदोको मात्रा नाप्ने प्रविधि सिस्मिक डिस्चार्ज मोनिटरिङ स्टेसन नेपालमा भित्र्याउनु अति आवश्यक छ। यस्तो रिस्क इन्टेलिजेन्सबाट प्राप्त तथ्यांक नेपाल, चीन र भारतका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन थिएटर (नेसनल इमरजेन्सी अमरेसन थिएटर) मा स्वचालित रूपमा पुग्ने र नेपाली समाज तथा तल्लो तटीय क्षेत्रमा मानवरहित तरिकाले तत्कालै ‘अलर्ट’ वा पूर्वसूचना जारी हुने प्रविधि जडान गरिनुपछ। यस्ता अलर्टहरूलाई ‘कमन अलर्टिङ प्रोटोकल’ प्रयोग गरी ब्रोडकास्टिङ प्रणालीद्वारा संप्रेषण गर्नुपर्छ।
बहुप्रकोपीय जोखिममा आधारित संरचनाहरूको डिजाइन : सन् २०१५ को भूकम्पपछि अपनाइएको ‘जहाँ संरचना भत्कियो, त्यहीँ पुनः निर्माण गर्ने’ तरिका अबको हिमाली करिडोरका लागि घातकसिद्ध भइसकेको छ। केरुङ जोड्ने कोरिडोरमा नदीको सतह नजिक बनाइने पुराना शैलीका थ्याप्चे पुलहरू (स्टिल ट्र्स्स पुल) बाढी र लेदोको पहिलो प्रहारमै भत्किने भएकाले अब ओल्लो डाँडाको चट्टानबाट पल्लो डाँडाको चट्टान जोड्ने झोलुंगे प्रविधिका तारेपुलहरू मात्र निर्माण गरिनुपर्छ।
पुलमात्र नभई राजमार्ग, सुरुङमार्ग (टनेल), जलविद्युत् आयोजना र काठमाडौं–केरुङ फास्ट ट्र्याकजस्ता रणनीतिक पूर्वाधारहरू बनाउँदा बहुप्रकोपीय जोखिम (भूकम्प, बाढी, पहिरो र गेग्रान बहाव) लाई ध्यानमा राखेर नयाँ इन्जिनियरिङ कोडहरू तयार पार्नुपर्छ। नदीको जमिनलाई मिच्नुको सट्टा डाँडा ताँछिसकेपछि ‘रक बोल्टिङ’ , ‘रक एन्करिङ’, रक–फल प्रोटेक्सन सिस्टमका साथै बायो–इन्जिनियरिङसमेतको प्रयोग गर्ने विधि अँगालुपर्छ।
विशिष्टीकृत निर्देशनालय र ‘लस एन्ड ड्यामेज’को लेखाजोखा : रसुवा–भोटेकोशीमात्र नभई कोशी, गण्डकी, कर्णाली र महाकालीका थुप्रै नदी करिडोरहरू उच्च जोखिममा रहेकाल सिकेको चेतना र प्रविधिलाई देशभरका अन्य करिडोरमा पनि निरन्तर लागू गर्दै लैजानुपर्छ। तसर्थ, सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नै थप सबल, सक्षम र स्रोतसाधन सम्पन्न बनाइनुपर्छ। यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लाई परिमार्जन गर्नुपर्छ। राहत, उद्धार र खोजीमा विपद् प्राधिकरणले विशिष्टता हासिल गरिसकेकाले, दिगो पुनर्निर्माण र पुनस्र्थापनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष मातहत रहने गरी दुईवटा विशिष्टीकृत स्थायी निर्देशनालय गठन गरिनुपर्छ।
क) भौतिक पूर्वाधार पुनर्निर्माण तथा पुनस्र्थापना निर्देशनालय : भौतिक योजना तथा पूर्वाधार मन्त्रालयअन्तर्गत रहने यस निर्देशनालयले करिडोरभित्रका एकीकृत बस्ती, सडक, पुल, सुरुङमार्ग र अन्य सार्वजनिक संरचनाहरूको दिगो र सुरक्षित पुनर्निर्माणको योजना तथा कार्यान्वयन गर्नेछ।
ख) ऊर्जा तथा जलस्रोत पुनर्निर्माण तथा पुनस्र्थापना निर्देशनालयः ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहने यस निर्देशनालयले बाढीबाट क्षतविक्षत भएको जलविद्युत् क्षेत्रको पुनर्निर्माणमा नेतृत्व लिनेछ। राज्यले हालसम्म गर्दै आएको क्षतिको द्रुत मूल्यांकन द्रुत विपद् आवश्यकता आकलन (आरडीएनए) वा विपद्पश्चात्को आवश्यकता आकलन (पीडिएनए) ले केवल भौतिक पूर्वाधारमा भएको प्रत्यक्ष क्षतिको मात्र हिसाब गर्छ।
उद्योग, पर्यटन, कृषि, व्यापार र स्थानीय जैविक विविधतामा परेको दीर्घकालीन ‘लस एन्ड ड्यामेज’को विस्तृत लेखाजोखा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण, कृषि, जलस्रोतः तथा वातावरण मन्त्रालय र ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले संयुक्तरूपमा अन्य मन्त्रालयसँग समन्वय गरी गरिनुपर्छ।
विकसित मुलुकहरूले उत्सर्जन गरेको जीवाश्म इन्धनका कारण भएको जलवायु परिवर्तनले नेपाल जस्ता देशले भोगेको यो वास्तविक ‘लस एन्ड ड्यामेज’ को वैज्ञानिक तथ्यांक तयार पारी संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु क्षतिपूर्तिको सशक्त दाबी प्रस्तुत गरिनुपर्छ।
नेपाल, भारत र चीनको संयुक्त ‘क्लाइमेट रेजिलेन्स इनिसियटिभ’ : प्रधानमन्त्री वालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गर्नुभएको नेपाल, भारत र चीनको संयुक्त ‘क्लाइमेट रेजिलेन्स इनिसियटिभ’ को अवधारणालाई अब कागजातमा मात्र सीमित नराखी व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन त्यसको मस्यौदा, कार्यक्षेत्र र कार्ययोजना तयार गरी कूटनीतिक नियोग÷माध्यम (प्रयोग गरेर भारत र चीन सरकारसँग संवाद थालनी गर्नुपर्छ। हिमाली क्षेत्रमा निम्तिने यस्ता महाविपद्हरू कुनै एउटा देशको सीमाभित्र मात्र सीमित नरहने र यसको असर तल्लो तटीय क्षेत्र भारतसम्मै पुग्ने भएकाले, नेपाल एक्लैले यसको दीर्घकालीन समाधान गर्न सक्दैन।
निष्कर्ष : भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई विगतका जस्तै परम्परागत र टालटुले तरिकाले अगाडि बढाउने गल्ती राज्यबाट हुनु हुँदैन। यदि हामीले माथि उल्लेख गरिएका पाँच वटा आधारभूत स्तम्भहरू अर्थात् इकोनोमिक करिडोर प्लानिङ, इन्टर बेसिन रिस्क इन्टेलिजेन्स, बहुप्रकोपीय जोखिममा आधारित इन्जिनियरिङ, विशिष्टीकृत निर्देशनालयमार्फत ‘लस एन्ड ड्यामेज’ को सम्बोधन र त्रिदेशीय क्लाइमेट रेजिलेन्स इनिसियटिभलाई गम्भीरतापूर्वक नीतिगत र व्यावहारिक रूपमा लागू गर्न सक्यौं भने मात्र हामीले यो विपद्मा ज्यान गुमाएका र विस्थापित भएका नागरिकहरूप्रति सच्चा न्याय गर्न सक्नेछौं। अन्यथा, आगामी ५ देखि १० वर्षभित्र यस्तै प्रकृतिको अर्को महाविपद् दोहोरिने र पुनः हजारौं जनधनको क्षति बेहोर्नुपर्ने नियतिबाट हामी उम्कन सक्ने छैनौं। तसर्थ, यो विनाशलाई एउटा चेतना र अवसरका रूपमा लिएर नयाँ र सुरक्षित हिमाली नेपालको निर्माणतर्फ लाग्नु नै आजको मुख्य आवश्यकता हो।
पोखरेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन्।
प्रतिक्रिया दिनुहोस !