कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेन : राप्रपा प्रमुख सचेतक ओली
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको छलफलमा ओलीले पुराना कानुनका आधारमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको उल्लेख गरिन्। कानुन निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहे तापनि, सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू समेत अस्वीकृत भएको अवस्थामा सदनमा पर्याप्त छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा उनले जोड दिइन्। सदनमा घनिभूत बहस र छलफलमार्फत सत्तापक्ष र प्रतिपक्ष मिलेर कानुन निर्माणको प्रक्रियालाई अझ परिमार्जित बनाउनुपर्ने उनको भनाइ छ।
उनले कानुन निर्माणका लागि सदनमा हुने छलफलको समय बढाउनुपर्ने धारणा व्यक्त गरिन्। सामान्यतया २–३ मिनेटमा हतारहतार विषय टुङ्ग्याउने वा एकै दिनमा ४–५ वटा विधेयकहरूमा सतही छलफल गर्ने परिपाटीले गर्दा पर्याप्त बहस हुन नसकेको उनको जिकिर छ।
प्रतिक्रिया दिनुहोस !