पाल्पामा प्रहरीको रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन
तानसेन : नजिकिँदै गरेको दशैं–तिहार जस्ता चाडपर्वको समयमा अस्पतालहरूमा बिरामीका लागि रगतको कमी हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल रेडक्रस सोसाइटी पाल्पाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
७१औँ प्रहरी दिवसको अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको रक्तदान कार्यक्रममा प्रहरीबाट ३० युनिट रगत संकलन भएको छ। चाडपर्वको बिदा र उत्सवका समयमा नियमित रक्तदाताहरूको कमी हुने र दुर्घटना वा जटिल स्वास्थ्य समस्यामा रगतको माग बढ्ने भएकाले समुदायसंग प्रहरी कार्यक्रमअन्तर्गत पाल्पा प्रहरीले बिरामीहरुलाई बचाउने अभियानमा साथ दिएको हो। रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी प्रमुखदेखि जुनियर अधिकृत, ट्राफिक प्रहरी तथा जवानहरूले उत्साहित हुदै रक्तदान गरेका छन्।
नागरिकको जीउधनको सुरक्षासँगै जीवन रक्षा गर्नु पनि नेपाल प्रहरीको ठुलो योगदान रहदै आएको छ। अस्पतालहरुमा आपतकालिन रगत आवश्यकता पर्दा प्रहरीले नै नियमित रुपमा रक्तदान गर्दै जटिल प्रकारका विरामीको ज्यान बचाउदै आएका छन। ‘हामी देश र जनताको शान्ति सुरक्षा कायम गर्न दिनरात खटिएकै छौँ, तर ७१औँ प्रहरी दिवसको अवसरमा सुरक्षाका साथसाथै बिरामी नागरिकहरूको ज्यान बचाउने पवित्र उद्देश्यले रक्तदान गर्न मिल्ने जती सबै प्रहरी रक्तदानमा सहभागी भए,’ प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पञ्जियार थारुले भने।
अस्पतालहरूमा सुत्केरी, गर्भवती तथा अन्य स्वास्थ्य समस्याका कारण सबैभन्दा बढी महिला बिरामीहरूलाई नै रगतको आवश्यकता पर्ने गर्दछ। अस्पतालमा ७० प्रतिशत महिला विरामी र ३० प्रतिशत पुरुष विरामीमा रगतको आवश्यकता र खपत हुदै आएको छ। महिला बिरामीहरूलाई रगतको खाँचो बढी पर्ने भएकाले रक्तदान अभियानमा महिलाको सहभागिता बढाउनु पर्दछ भन्ने उद्देश्यले नागरिक सुरक्षा संगै जिवन बचाउने पवित्र कार्यमा सहभागी भएको महिला प्रहरी रमिता गौतमले बताईन।
पाल्पामा रहेका साना–ठूला गरी पाँचवटा अस्पतालहरूमा दिनँहु रगतको आवश्यकता पर्ने गरेको छ। चाडपर्वको समयमा रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी पाल्पा ब्लड बैंकले विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा रगत संकलन अभियानलाई तीव्रता दिएको छ। चाड पर्वमा पनि अस्पतालका विरामीहरुको आवश्यकता अनुसार भनेको सयमा रगत उपलब्ध गराउन सकियोस भनेर नै रगत संकलनको रोष्टर बनाएर रक्तदान कार्यक्रम संचालन गरिएको नेपाल रेडक्रस सोसाइटी, पाल्पा शाखाका प्रमुख विनोद भारतीले बताए।
पाल्पामा मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल, रामपुर अस्पताल, गौतम बुद्ध डाईलासिस गरी पाँच वटा ठुला अस्पताल संचालनमा रहेका छन्। संकलित ३० युनिट रगत नेपाल रेडक्रस सोसाइटी पाल्पाको ब्लड बैंकमा सुरक्षित राखिने र आवश्यकता अनुसार विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूलाई उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस !