विराटनगरमा डिभाइडरमा ठोक्किएर बसमा बजारियो स्कुटर, चालकको मृत्यु
विराटनगर : विराटनगरमा स्कुटर दुर्घटनामा परेर १८ वर्षीय युवकको मृत्यु भएको छ। अर्का १८ वर्षीय युवक गम्भीर घाइते भएका छन्।
विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकमा बिहीबार दिउँसो दुर्घटना हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका मोहम्मद रिहानरेन मियाँको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । दुर्घटनामा स्कुटरको पछाडि सवार सप्तरीकै राजविराज नगरपालिका–९ बलटाका मोहम्मद नजाम मियाँ घाइते भएका छन्।
डीएसपी मिश्रका अनुसार दिउँसो करिब ३ः१५ बजे विराटनगरको बरगाछीबाट सुनसरीतर्फ जाँदै गरेको अनटेस्ट स्कुटर अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो। डिभाइडरमा ठोक्किएपछि उछिट्टिएको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको सिर्जना ज्ञान नवतारा बोर्डिङ स्कुलको बसमा बजारिएको थियो।
दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका चालक रिहानरेनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३ः५२ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घाइते नजामको पनि टाउकोमा चोट लागेको छ । उनको सोही अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
मिश्रका अनुसार दुर्घटनापछि फरार भएका बस चालकको खोजी भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर र बस प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली खटिएको छ। प्रहरीले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित अन्य विवरणका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !