ट्रम्पले रद्द गरे मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य अड्डामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्व सैन्य मनोचिकित्सक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन् । व्यापक आलोचना भएपछि ट्रम्पले मृत्युदण्ड हुने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका हुन् ।
ट्रम्पले यसअघि हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनालाई समर्थन गरेका थिए । उनको विचारमा मृत्युदण्ड सार्वजनिक रूपमा देखाउँदा अपराधका गम्भीर परिणामबारे मानिसहरूलाई जानकारी दिन सकिन्छ । तर मानव अधिकार सङ्घसंस्था तथा अन्तर्राष्ट्रिय समुदायले यस्तो योजनाको आलोचना गरेका थिए ।
बिबिसिमा उल्लेख भए अनुसार ट्रम्पले बिहीबार धेरै मानिसले मृत्युदण्डको दृश्य सार्वजनिक रूपमा देखाउन नचाहेको बताएका छन् । उनले हसनलाई गोली हानेर मृत्युदण्ड दिइने भए पनि कार्यक्रम प्रसारण नगरिने स्पष्ट पारेका छन् । पीडितका परिवारले चाहेमा भने उनीहरूले प्रत्यक्ष उपस्थित भएर मृत्युदण्ड हेर्न सक्ने उनको भनाइ छ ।
पेन्टागनले यसअघि हसनलाई सन् २०२६ डिसेम्बर ३ मा गोली हान्ने टोलीमार्फत मृत्युदण्ड दिने योजना सार्वजनिक गरेको थियो । उक्त योजना सार्वजनिक भएपछि मानव अधिकारकर्मी तथा विभिन्न समूहबाट विरोध भएको थियो । संयुक्त राष्ट्रसङ्घले पनि मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको आलोचना गरेको थियो ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले भने यस्तो सजायले अपराधका गम्भीर परिणामबारे मानिसहरूलाई बुझाउन मद्दत गर्ने तर्क गर्दै योजनाको बचाउ गरेका थिए । तर आलोचना बढ्दै गएपछि ट्रम्पले प्रत्यक्ष प्रसारण नहुने निर्णय सुनाएका हुन् ।
सन् २००९ नोभेम्बर ५ मा हसनले फोर्ट हुड सैन्य अड्डाको एक मेडिकल भवनमा गोली चलाएका थिए । त्यहाँ सैनिकहरू स्वास्थ्य परीक्षण र खोप लगाउन प्रतीक्षारत थिए । उक्त आक्रमणमा १३ सैनिकको मृत्यु भएको थियो भने अन्य ३२ जना घाइते भएका थिए । यो अमेरिकी सैन्य अड्डामा भएको सबैभन्दा घातक गैरयुद्धकालीन गोलीकाण्डमध्ये एक हो ।
हसनले पछि अदालतमा आफूले गोली चलाएको स्वीकार गरेका थिए । सन् २०१३ मा भएको सैनिक अदालतको कारबाहीका क्रममा उनले आफूले अफगानिस्तानमा मुस्लिम र तालिबानलाई अमेरिकी सेनाबाट जोगाइरहेको विश्वास गरेको बताएका थिए ।
हसनका वकिल जोन ग्यालिगनले मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना सुरु गर्नु नै गलत निर्णय भएको बताएका छन् । उनका अनुसार यस्तो प्रसारणले सेनाको आफ्नै नियमसमेत उल्लङ्घन गर्न सक्थ्यो । उनले यस घटनाले अमेरिकी सैन्य न्याय प्रणालीको छविमा दीर्घकालीन असर पार्न सक्ने टिप्पणी गरेका छन् ।
हसन छातीभन्दा तलको भागमा पक्षाघातको अवस्थामा रहेको पनि उनका वकिलले बताएका छन् । प्रत्यक्ष प्रसारणसम्बन्धी निर्णय उल्ट्याइएको विषयमा हसनलाई जानकारी थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन ।
ट्रम्पको पछिल्लो निर्णयसँगै मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रोकिएको छ । यद्यपि, हसनलाई निर्धारित मितिमा मृत्युदण्ड दिने योजना भने कायम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !